३० आश्विन २०८१, बुधबार | Wed Oct 16 2024


कसको कुरा पत्याउने ?


0
Shares

सरोज अधिकारी (इमेज)

काठमाडौं, भदौ १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भिडियो कन्फ्रेन्स’मार्फत् मन्त्रिपरिषद्को बैठक गरेको चर्चा सेलाएको छैन ।

प्रधानमन्त्री ओलीले ‘भिडियो कन्फ्रेन्समार्फत् मन्त्रिपरिषद् बैठक गरियो’ भन्ने तर सन्चारमन्त्रीले ‘होइन’ भनेर जवाफ दिएको हप्ता दिन बित्दासम्म के भएको हो ? भनेर जानकारी नहुनुले कतै सरकार संस्थागत झुटमै लागिरहेको त छैन ? भन्ने प्रश्न उठाइदिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा सहभागी र सहयोगी सबैलाई धन्यवाद दिँदै अघिल्लो सोमबार सिंगापुरबाट ट्वीट गरेका थिए ।

उनले भिडियो कन्फ्रेन्समार्फत् मन्त्रिपरिषद् बैठक बसिरहेको तीन तस्वीर सार्वजनिक गर्दै ट्वीटमा ‘प्रविधि र प्राविधिकलाई धन्यवाद दिन चाहन्छु । आज पहिलोचोटी सिंगापुरबाट टेलिप्रिजेन्समार्फत् मन्त्रिपरिषदको बैठक बस्न सकियो । मन्त्रिपरिषद्का सबै सहभागी साथीहरुलाई धन्यवाद । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयका सबै सहयोगीहरुलाई धन्यवाद ।’ भनेका छन् ।

त्यसपछि टेलप्रिजेन्समार्फत् बैठक गर्दा राष्ट्रियतामाथि नै प्रश्न उठेको भन्दै विरोध भयो ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदमै यस विषयमा पटक–पटक जवाफ माग्यो ।

पछिल्लो समय मन्त्रिपरिषद्को बैठकको निर्णय हप्ताको बिहीबार सुनाइने पद्दति बसालिएको छ ।

तर, यसपटकको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएन । न त सन्चार मन्त्रालयले गत बिहीबार निर्णय सुनाउन पत्रकार पत्रकार सम्मेलन नै गर्‍यो ।

बरु, मन्त्रिपरिषद् बैठक बसेको चार दिनपछि बिहीबार नै प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सन्चारमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठक नै नभएको भन्दै टेलिप्रिजेन्सबाट बैठक गर्नका लागि पूर्वअभ्यास गरिएको जिकिर गरे ।

कसको कुरा पत्याउने ? प्रधानमन्त्री मन्त्रिपरिषद् बैठक बसेको ट्वीट गर्छन् । सन्चारमन्त्री बैठक नै बसेन भन्छन् ।

सरकार वैधानिक र सबैभन्दा विश्वसनीय संस्था हो । तर, आफनै बैठकसमेत बसेको हो/होइन भन्ने टुंगो गर्न नसक्ने सत्तासँग जनताको विश्वास कसरी जोडिएला ?

हतारमा काम गर्ने र फुर्सदमा पछुताउने रोगबाट ग्रस्त वर्तमान सरकार यो घटनामा पनि एकपटक चिप्लिएको छ ।

भिडियो हेर्नोस्