२ असार २०८२, सोमबार | Mon Jun 16 2025


कांग्रेस नेता आचार्यको निधन


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता हरिहर आचार्यको निधन भएको छ । कांग्रेस अर्घाखाँचीका जिल्ला कमिटी सल्लाहकार आचार्यको ७० वर्षको उमेरमा आइतबार दिउँसो शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो ।

कोरोना भाइरस संक्रमित आचार्य १९ दिनदेखि शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । पछिल्लो पाँच दिन भेन्टिलेटरमा रहेर उपचार हुँदाहुँदै कोरोना परीक्षण नेगेटिभ आए पनि निमोनियाको थप उपचारका क्रममा आइतबार दिउँसो निधन भएको आचार्यका कान्छा भाइ युवराज आचार्यले जानकारी दिनुभयो ।

उहाँको आइतबार बेलुकी पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा। सशांक कोइरालाले आचार्यको पार्थिव शरीरमा नेपाली कांग्रेसको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिनुभएको थियो ।

त्यस्तै विघटित प्रतिनिधिसभा सांसद एवं कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुषाल, पूर्व सांसद डा।रामबहादुर बिसी, नेपाल मेडिकल एसोसिएसनका पूर्व अध्यक्ष डा. मुक्ति श्रेष्ठ लगायत नेताहरुको उपस्थिति रहेको थियो । आचार्य लामो समयदेखि कांग्रेसको राजनीतिमा रहनु भएको थियो ।