१० श्रावण २०८२, शनिबार | Sun Jul 27 2025


मालारानी मन्दिर प्रचारप्रसारको अभावमा ओझेलमा (भिडियो)


0
Shares

-सागर महत/ईमेज

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकास्थित धार्मिक तथा ऐतिहासिक महत्वको मालारानी मन्दिर प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

मन्दिरलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने भए पनि प्रचारप्रसार र सम्बद्र्धनको अभावमा चहलपहल हुन नसकेकोे हो ।

अर्घाखाँचीको सदरमुकामदेखि १५ किलोमिरको दुरीमा मालारानी गाउँपालिकामा अवस्थित मालारानी मन्दिर प्रचार प्रसार तथा पूर्वाधार निर्माणको अभावमा ओझेल परेको छ ।

समुद्री सतहदेखि २ हजार ८५ मिटर उचाईमा रहेको मन्दिर विं.सं. १८६२ मा स्थापना भएको हो । मन्दिरको ऐतिहासिक र धार्मिक महत्व त छँदैछ वरपरको मनमोहक दृश्यले जोकोहीलाई आकर्षित गर्दछ ।

प्रकृतिको सुन्दरतासँगै मन्दिरभन्दा ५० मिटर तल रहेको गुँरासको बोटबाट बिगतदेखि नै निरन्तर पानी बग्दै आएको छ ।

त्यो पानीलाई अन्जुलीमा लिएर मन्दिरमा चढाइयो भने मनोकांक्षा पुरा हुने विश्वास रहँदै आएको स्थानीय सुभाष खड्काको भनाइ छ ।

मालारानी मन्दिरमा भगवानको पूजाआजा र दर्शन गरे मनोकांक्षा पूरा हुने विश्वासमा भक्तजनले भाकल गरी बोका, राँगा, कुभिण्डो आदिको बली चढाउने गर्छन् ।

शिवरात्रीको दिन र दशैंको अवसरमा मन्दिरमा भक्तजनको उपस्थित निकै हुने गरेको छ ।

अथाह संभावनाका हुँदाहुँदै पनि यहाँ पर्यटकहरुलाई आकर्षित गर्न नसकेको अवस्थामा गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य भने त्यसको लागि आफूहरुले पहल गरिरहेको दाबी गर्छन ।

आन्तरिक तथा बाह्य पर्यटक भित्राउनुको साथै सोही ठाउँमा रहेका बहमूल्य जडीबुटी बेच्न सकेमा धेरैलाई रोजगारी सिर्जना गर्न कठिन छैन ।