१ असार २०८१, शनिबार | Sat Jun 15 2024


हुम्लामा खाद्यको चामल कर्मचारीले होइन, ठेकेदारले बेच्छन्, बजार मूल्य भन्दा महंगो


0
Shares

काठमाडौं । हुम्लामा खाद्य कम्पनीका दुईवटा डिपो र पाँचवटा बिक्री केन्द्र छन् । तर, कर्मचारी छैनन् । त्यसैले चामल ढुवानीको जिम्मा पाएका ठेकेदारले नै डिपो र बिक्री केन्द्रबाट चामल बिक्री गरिरहेका छन् । 

स्थानीय बासिन्दाका अनुसार ठेकेदार कम्पनीले कुन दिन कुन बिक्री केन्द्रमा चामल आउँछ भनेर आसपासका बासिन्दालाई खबर गर्ने गरेका छन् । त्यहीअनुसार स्थानीय बिक्री केन्द्रमा जम्मा हुन्छन् । ठेकेदारले नै पैसा लिँदै चामल बिक्री गर्छन् । चामल बिक्री गर्नासाथ ठेकेदार फर्किन्छन् । त्यसैले चामलको गुणस्तरबारे स्थानीयले गुनासोसमेत गर्न पाउँदैनन् ।

गुणस्तरीय चामल नपाउने सर्वसाधारणलाई ठेकेदारले मूल्यमा समेत ठग्ने गर्छ । तोकिएभन्दा बढी मूल्यमा चामल बिक्री गर्ने गरिएको स्थानीय बताउँछन् । एक महिना पहिले सर्केगाड डिपोबाट एक हजार तीन सय ५० रुपैयाँ तोकिएको चामलको बोरा ठेकेदारले दुई हजार रुपैयाँमा बिक्री गरेको सर्केगाड गाउँपालिका– ५ का गगन सिंहले बताए । 

‘डिपोबाट आठ बोरा चामल किनेको हुँ । त्यसका लागि १६ हजार रुपैयाँ तिरेँ,’ सिंहले भने, ‘अन्य ठाउँमा पनि बुझेपछि मात्र बढी रकम असुलिएको थाहा पाएँ ।’ पछि ठेकेदारसँग भेट भएपछि भने पैसा फिर्ता पाएको उनले बताए । तर, अधिकांश सर्वसाधारण मूल्यमा समेत ठगिने उनको भनाइ छ । 

ठेकेदारले कुहिएको तथा गनाएको चामल बिक्री गरेको, तोकिएभन्दा महँगोमा बेच्ने गरेकोलगायतका विषयमा स्थानीयले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सिमकोट शाखा कार्यालयमा पटकपटक गुनासो पनि गरेका छन् । तर, कार्यालयले चासो नै नदिएको उनीहरू बताउँछन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सिमकोट शाखा कार्यालयका प्रमुख निर्मल थापाले दुई कर्मचारी मात्र भएकाले सबैतिर ध्यान पुर्‍याउन नसकेको बताए । कर्मचारी नहुँदा ठेकेदारलाई नै चामलको जिम्मा दिने गरेको उनको भनाइ छ । ‘कर्मचारी नहुँदा केही समस्या भयो होला । ठेकेदारले नै चामल बिक्री गरेका ठाउँमा उही जिम्मेवार हुन्छ,’ थापाले भने । 

कार्यालयका अनुसार गत वर्ष हुम्लामा २४ हजार नौ सय २१ क्विन्टल चामल १५ करोड ६७ लाख ३४ हजार रुपैयाँमा बिक्री भएको थियो । सिमकोटबाट जिरा मसिनो ७० रुपैयाँ, जापानिज ६५ रुपैयाँ, सोना मनसुली ६२ रुपैयाँ, मध्यम ६१ रुपैयाँ, अरुवा मोटा ५७ रुपैयाँ, गोरखनाथ ६२ रुपैयाँ र उसिना ३५ रुपैयाँ प्रतिकिलो बिक्री मूल्य तोकिएको छ । नयाँ पत्रिका