२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024


गाईगोरु मुत्यु प्रकरणः गृह मन्त्रालयद्वारा छानबिन समिति गठन, को–के भन्छन् ?


0
Shares

नारायण ढुंगाना (रासस) 

काठमाडौं, भदौ १४ । सुर्खेतको वीरेन्द्रनगरमा भएको गाई र गोरुको अस्वाभाविक मृत्यु प्रकरणमा संलग्न व्यक्तिलाई सरकारले कारबाही गर्ने भएको छ ।

उक्त घटनाको छानबिन गर्न गृह मन्त्रालयले उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ ।

समितिलाई १५ दिनको म्याद दिइएको छ ।

गौ–हत्याजस्तो गम्भीर अपराधमा संलग्नलाई कानुनअनुसार हदैसम्मको कारबाही गरिने गृह मन्त्रालयले जनाएको छ ।

‘अपराधमा संलग्नलाई उन्मुक्ति नदिइने कुरामा गृह मन्त्रालय प्रतिबद्ध छ’–मन्त्रालयद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।

समितिलाई घटनाको अनुसन्धान र सहयोग पुर्‍याउन सरोकारवालालाई मन्त्रालयले आग्रह गरेको छ ।

नेपालगन्जबाट बिहीबार दैलेखका लागि लगिएका गाई र गोरु सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित दैलेख–सुर्खेत सडकखन्डको कटकुवा जंगलमा मरेको फेलापरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले गाई र गोरुको ओसारपसार, अस्वाभाविक मृत्यु र घाइते भएको घटनामा कसको सम्बन्ध थियो भन्नेबारे यकिन गर्नसमेत समितिलाई निर्देश गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रहरी र ट्रकचालकले वीरेन्द्रनगर नगरपालिका–१४, कटकुवा जंगलमा गाई र गोरु छाडेर फर्किएका थिए ।

नेपालगन्ज–२१, बेतनी र फूलटे बीचमा रहेको काञ्जीहाउसबाट नगरप्रहरीको नेतृत्वमा ८ ट्रकमा गाई र गोरु दैलेखको श्रीस्थान पठाइएको थियो । बीचमा गाई र गोरु बिरामी भइ मर्न थालेपछि उनीहरुले बीच जंगलमै छाडेको बताइएको छ ।

१६७ गाईगोरु फिर्ता, ३० मृत फेला

खोजी गर्दा शनिबारसम्म १६७ गाईगोरु फेलापरेका छन् । त्यसमध्ये १४६ गाईगोरु नेपालगन्ज फिर्ता गरिएको छ भने केहीलाई दैलेख पठाइएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले जानकारी दिए ।

अहिलेसम्म ३० गाई र गोरु मरेको फेलापरेको सुर्खेतका प्रहरी नायब उपरीक्षक रवि रावलले राससलाई बताए । ‘खोजी जारी छ’–उनले भने ।

नेपालगन्ज उपमहानगरपालिकाले २९१ गाईगोरु पठाएको जानकारी दिएको छ ।

‘भीरबाट खसालेको देखिन्छ । मृत्यु भएपछि खसालियो या जिउँदै खसालियो यकिन भएको छैन । शव परिक्षणको रिपोर्टपछिमात्रै थाहा हुन्छ’–रावलले भने ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको ६ ट्रकचालकको विषयमा अनुसन्धान गरिरहेको छ ।

उनीहरुलाई आइतबार अदालतबाट म्याद थप गरी घटनाको थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

सहायक प्रजिअ अर्यालले भने–‘व्यवस्थापनमा केही कमजोरी भएको छ । तर, गाईगोरु मार्ने नियतचाहिँ होइन ।’

बजारमा छाडा भेटिएका पशु–चौपायाको व्यवस्थापनमा नेपालगन्ज उपमहानगरपालिकाले चरम लापरबाही गर्दा दैलेख पठाइएका गाई र गोरु बाटोमै मरेका हुन् । त्यहाँ १५० भन्दाबढी गाईगोरु घाइते भेटिएका थिए ।

कतिपय गाईगोरु भीरमा मरेको अवस्थामा भेटिएको र केही सडकछेउका विभिन्न स्थानमा फेलापरेका थिए ।

प्रहरी नायब उपरीक्षक रावलले नेपालगन्ज उपमहानगरपालिकाले गाईगोरु व्यवस्थापनमा लापरबाही गर्दा घटना भएको बताए ।

मुलुकी अपराध संहिताको पशुपक्षीसम्बन्धी कसुरको दफा २८९ को उपदफा १ मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्‍याउने नियतले काम गर्न नहुने उल्लेख छ ।

उपदफा २ मा गाईगोरु मारेमा तीन वर्ष कैदको व्यवस्था छ । सोही मुद्दामा प्रहरीले अनुुसन्धान गरिरहेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका सूचना अधिकारी शरदकुमार पौडेलले दैलेखको श्रीस्थानमा छाड्नका लागि २९१ गाईगोरु बिहीबार पठाइएको जानकारी दिए ।