सुर्खेत, भदौ १४ । दैलेख पुर्याउने भनी रातारात सुर्खेतको कटकुवा जंगलमा बेवारिसे छाडिएका गाईको उद्वार गरी पुनः नेपालगन्जतर्फ पठाइएको छ ।
स्थानीय प्रशासनको समन्वयमा वीरेन्द्रनगर नगरपालिकाले बेवारिसे छाडिएका गाईलाई शनिबारदेखि नेपालगन्ज फिर्ता पठाउन थालेको हो ।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले १४२ ओटा गाई नेपालगन्ज पठाइसकेको जानकारी दिए ।
उनले घाइते रहेका कतिपय गाई–गोरुको औषधि उपचार गरी फिर्ता पठाइने बताए ।
वीरेन्द्रनगर नगरपालिकाको पशु स्वास्थ्य शाखाका चिकित्सकको टोलीले शुक्रबार मृत भेटिएका गाईको मुचुल्का तथा शव परीक्षण गर्नुका साथै घाइतेको उपचार गरिरहेका छन् ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार मृत गाई–गोरुको संख्या ३० पुगेको छ । परीक्षण रिपोर्टपछिमात्र गाईको हत्या भए/नभएको यकिन हुने प्रहरीको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेको पत्रअनुसार नेपालगन्ज उपमहानगरपालिकाको काञ्जीहाउसबाट दैलेखको शिरस्थान धार्मिक क्षेत्रमा पठाउने भनी ती गाई पठाइएको थियो ।
तर, शिरस्थान क्षेत्र पर्ने दैलेखको भैरवी गाउँपालिकाले भने आफ्नो तर्फबाट लिखित/मौखिक कुनै माग नगरेको प्रतिक्रिया दिएको छ ।
गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढाले आफू, वडा कार्यालय र मन्दिर व्यवस्थापन समितिले नेपालगन्ज उपमहानगरपालिकासँग त्यस्तो कुनै माग नगरेको प्रस्ट पारे ।
‘यहाँ त्यति ठूलो संख्यामा गाई–गोरु पाल्न सकिने ठाउँ छैन । भ्रमपूर्ण प्रचार गरिएको छ । शिरस्थान क्षेत्रका लागि कुनै माग भएको छैन’–उनले भने ।
भैरवी गाउँपालिका–१ को कार्यालय र शिरस्थान मन्दिर व्यवस्थापन समितिले पनि आफूहरुले गाई–गोरुको माग नगरेको भन्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।
शुक्रबार बिहान ३ बजेतिर वीरेन्द्रनगर वडा नम्बर–१४ पर्ने कटकुवा जंगलमा २९१ गाई–गोरु अलपत्र अवस्थामा छाडिएको थियो ।
कतिपय गाई–गोरु भीरबाट खसालिएको अवस्थामा भेटिएकाले स्थानीयवासीले ‘गौहत्या’ भन्दै घटनामा संलग्नलाई कानुनी कारबाहीको माग गरेका छन् ।
घटनाको विरोधमा शनिबार मंगलगढीचोकबाट सुरु भएको र्याली वीरेन्द्रचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले गाईलाई दानवीय हिसाबले भीरबाट खसालिएको भन्दै घटनाको निन्दा गरे ।
‘एउटा प्रदेशका छाडा पशु–चौपाया अर्को प्रदेशको अनुमतिबेगर ल्याएर छाडियो । नेपालगन्ज उपमहानगरपालिकाको गम्भीर लापरबाही हो’–अध्यक्ष रावतले भने–‘दोषी जुनसुकै ओहदाको भएपनि कारबाही गर्न सरकारले हिम्मत गरोस् । गाई राष्ट्रिय जनावरमात्र होइन, हाम्रो (हिन्दू) धर्म–संस्कृतिसँग जोडिएको अभिन्न प्राणी हो । यस्तो अपराधलाई छुट दिन सकिन्न ।’
सुर्खेत प्रहरीले पाँच ट्रकका चालक र सहचालक गरी सातजनालाई शुक्रबारै नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरिसकेको छ ।
मुलुकी अपराधसंहिताअन्तर्गत् पशुपक्षीसम्बन्धी कसुर गर्नेलाई कानुनी कारबाही गर्ने प्रावधान छ ।
अपराधसंहिताको उक्त कसुरअन्तर्गत् दफा २८९ को उपदफा १ मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्याउने नियतले कुनै काम गर्न नहुने उल्लेख छ । उपदफा २ मा गाई र गोरु मारेमा तीन वर्ष कैदको हुने व्यवस्था छ । रासस
प्रतिक्रिया दिनुहोस्