
बाग्लुङ । मध्यपहाडी लोकमार्गको बागलुङ बजारदेखि काठेखोला गाउँपालिका–२ अक्षते खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ ।
बागलुङदेखि अक्षते खण्डको सडक बिस्तार तथा स्तरोन्नती गर्ने क्रममा काठेखोला गाउँपालिका–१ खहरे क्षेत्रको पहरो कटान गर्नको लागि सडक बन्द हुन लागेको हो ।
भदौ १८ गतेदेखि असोज १७ गतेसम्म बिहान साढे ७ बजेदेखि साढे ९ बजेसम्म र बिहान साढे १० बजेदेखि दिउँसो साढे चार बजेसम्म सवारी आवागमन बन्द गर्ने जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।
पहरो कटान गर्ने क्षेत्रको नजिक बागलुङ सदरमुकाममा वितरण भएको खानेपानीको पाइप रहेको हुँदा सडक निर्माणको समयमा पानी वितरण सूचारु राख्नका लागि आयोजना कार्यालयले बागलुङ नगर खानेपानी उपभोक्ता समितिसँग समन्वय गर्ने भएको छ ।
निर्माण कम्पनीलाई तोकिएको समयावधिभित्र कार्य सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय बागलुङले निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्