५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


लुम्बिनीमा आध्यात्मिक विकास हुन सकेन : तीनै तहका सरकार अलमलमा


0
Shares

-दीपक घिमिरे/ईमेज

भैरहवा । बुद्धको जन्मभूमि लुम्बिनी आध्यात्मिकभन्दा पनि मनोरञ्जन केन्द्रको रुपमा विकास हुँदै गएकोप्रति सरोकारवाला पक्षले चिन्ता प्रकट गरेका छन् ।

गत वर्षको तुलनामा पर्यटकको संख्या वृद्धि भएको लुम्बिनीमा आध्यात्मिक र धार्मिक पर्यटक भित्राउने गरी विकास गरिनुपर्ने आवाज उठ्न थालेको हो ।

सन् २०१९ को जुलाईसम्म बुद्ध जन्मस्थल लुम्बिनीमा साढे ९ लाखभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् ।

जससमध्ये ७ लाख ६३ हजार जना नेपाली १ लाख १० हजार जना भारतीय र ८६ हजार ५ सय ३१ अन्य मुलुकका रहेका छन् जुन गत वर्षको तुलनामा १० प्रतिशतले बढी हो ।

यद्यपि पर्यटकको बसाइ अवधि भने औषत २ दिनभन्दा पनि कम देखिएको छ ।

बुद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मानिने लुम्बिनीको भ्रमण आउने अधिकांश आन्तरिक पर्यटकले भने यसको आध्यात्मिक महत्वलाई आत्मसात् गरेका छैनन् ।

पर्यटन व्यवसायी हेम विष्ट तिनै तहका सरकारले लुम्बिनीलाई कुन रुपमा चिनाउने भन्नेमै अन्योलता देखिएको बताउँछन् ।

मुस्लिम धर्मावलम्बीहरुको आस्थाको केन्द्र मक्काकै हाराहारीमा यसलाई पनि पर्यटकीय केन्द्रको रुपमा विकसित गर्न सकिने भए पनि स्पष्ट नीति नहुँदा मनोरन्जन केन्द्रका रुपमा मात्रै सीमित हुने हो कि भन्ने चासो उठेको छ ।

लुम्बिनी होटल एशोसिएसन अफ नेपालका उपाध्यक्ष गोविन्द ज्ञवालीले लुम्बिनीमा आध्यात्मिक गतिविधि नबढाएसम्म यहाँ पर्यटकको बसाइ लम्बाउन नसकिने धारणा राख्छन् ।

यसअघि लुम्बिनीमा लामा पूजा, मोलम पूजा लगायतका आध्यात्मिक गतिविधि भए पनि अहिले ती गतिविधि भारततर्फ सरेका छन् ।

प्रदेश ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ र संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी विशेष कार्यक्रमहरु नभएकाले योजनाबद्ध रुपमा गतिविधि बढाउनुपर्ने लुम्बिनी विकास कोषका सूचना अधिकारी हरिध्वज राईको भनाइ छ ।