‘प्रधानमन्त्रीले भनेको जस्तो तीन महिना भित्र सबैले खोप पाउन असम्भव’ • Image Khabar Image Khabar


‘प्रधानमन्त्रीले भनेको जस्तो तीन महिना भित्र सबैले खोप पाउन असम्भव’


प्रज्ञा तिमल्सिना
१५ माघ २०७७, बिहीबार १७:३७

‘प्रधानमन्त्रीले भनेको जस्तो तीन महिना भित्र सबैले खोप पाउन असम्भव’

प्रज्ञा तिमल्सिना
काठमाडौं । खोप उत्पादन गरिरहेका विकसित मुलुकहरूले समेत आफ्ना नागरिकलाई खोप सुुनिश्चित गर्न नसकेको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीलाई तीन महिनाभित्र खोप पु¥याउने घोषणा झुटो सावित हुने देखिएको छ । भारत र चीनले समेत सबै नागरिकलाई खोप दिन २ वर्ष लाग्ने बताएका छन् ।

एक अध्ययनले गरिब देशहरूमा २०२३ सम्ममा मात्र सबैलाई खोप उपलब्ध हुने देखाएको छ । खोप ल्याउन सरकारले धेरै देशसँग पहल गरेको बताइरहँदा भारतले निःशुल्क १० लाख डोज खोप दिएको छ । अरु देशसँगको प्रक्रिया के हो अहिलेसम्म अत्तोपत्तो छैन ।

स्वास्थ्य मन्त्रालयले भने सबैभन्दा पहिले विश्व स्वास्थ्य संगठनअन्तर्गतको ‘कोभ्याक्स’बाट नेपालको २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप आउने जनाएको थियो । तर, कोभ्याक्सले आगामी बैशाखसम्म खोप नदिने जनाइसकेको छ । यो बास्तविकताका माझ प्रधानमन्त्री ओली भने सबैले तीन महिनाभित्र खोप पाउने आश्वासन बाँडिरहनु भएको छ ।

नेपालले अहिलेसम्म भारतमा उत्पादन भइरहेको ‘कोभिशिल्ड’ खोपलाई मात्र मान्यता दिएको छ । यसले पनि नेपाल अझै पनि खोपका लागि भारतकै मुख ताकेर बसेको देखिन्छ । खोप आपूर्तिका लागि सरकारले बनाएको समितिका सदस्य खोप विज्ञ डा. श्यामराज उप्रेतीले भारतसँग खोप किन्न प्रयास भइरहेको जानकारी दिनुभयो ।

२ देखि ८ डिग्री तापक्रममा भण्डारण गर्न सकिने खोप रोजाइमा परेकाले खर्चका दृष्टिले पनि तत्कालका लागि कोभिशिल्ड नै नेपालको प्राथमिकतामा छ । सरकारले नेपालको जनसंख्याको ७२ प्रतिशत व्यक्तिलाई खोप लगाउनु पर्ने जनाएको छ । जसअन्तर्गत २ करोड १६ लाख व्यक्तिलाई खोप चाहिन्छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सरकारले ५० प्रतिशत खोप किन्ने र २० प्रतिशत कोभ्याक्सबाट आएको खोप प्रयोग गर्नेछ । कोभ्याक्सबाट खोप आउन अझै केही महिना लाग्ने र भारत आफैँ अभावमा रहेको र कोभिशिल्डबाहेक अन्यलाई प्रयोगको स्विकृति नदिएको अवस्थामा प्रधानमन्त्रीले भनेझैँ तीन महिनामा सबै नेपालीले खोप पाउन सम्भव छैन ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्