
सर्लाही । मिथिलाञ्चलमा मनाइने चौरचन पर्व नजिकिएसँगै सर्लाहीसहित तराईका जिल्लामा मूर्तिको व्यापार बढेको छ ।
हरेक वर्ष भाद्र शुक्लपक्षको चौथीका दिन मनाइने यस वर्षमा गणेशको मूर्ति स्थापना गरी पूजा गरिन्छ ।
पर्व नजिकिएसँगै जिल्ला सदरमुकाम मलङ्गवासहित दक्षिणी भेगका ग्रामीण बस्तीमा गणेशको मूर्तिको किनबेच बढेको हो ।
यो समयमा मूर्ति बिक्रीबाट राम्रो आम्दानी हुने गरेको मूर्तिकारहरुले बताएका छन् । सदरमुकाम मलङ्गवाका स्वरुप रामले हिजोआज मूर्तिको माग अत्याधिक रहेको बताए ।
एक हजार पाँच सय रुपियाँसम्म निर्माण लागत लाग्ने एउटा मूर्ति तीनदेखि चार हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको उनले जानकारी दिए ।
जिल्लाका भित्री बस्तीहरुमा वर्षौदेखि मूर्ति बनाउँदै आएका परिवारका स–साना बालबालिकादेखि वृद्धवृद्धासम्मलाई हिजोआज मूर्ति बनाउन भ्याइ–नभ्याई छ ।
उत्पादित मूर्ति गाउँबाटै बिक्री हुने गरेको छ । चौरचनमै दही जमाउन प्रयोग हुने माटोको भाँडाको व्यापार पनि हिजोआज राम्रै रहेको छ ।
सदरमुकाम मलङ्गवा, हरिपुर, बयलवास, बरहथवा, लालबन्दीलगायतका बजारमा मूर्ति र माटोको भाडाको व्यापार वृद्धि भएको हो ।
प्रतिक्रिया दिनुहोस्