Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


कोरोना खोप लगाएर मृत्यु भएमा क्षतिपूर्ति नदिने, कम्पनीविरुद्ध मुद्दा नहाल्ने


0
Shares

 काठमाडौं । कोभिड–१९ विरुद्ध बुधबारदेखि नेपालमा पनि खोप लगाइने भएको छ । तर, सरकारले खोप लगाउँदा कसैको मृत्यु भएमा क्षतिपूर्ति नदिने र खोप उत्पादन गर्ने कम्पनीविरुद्ध मुद्दा नहाल्ने भएको छ । 

भारतले नेपाललाई अनुदानमा १० लाख खोप उपलब्ध गराएको छ । गत साता नेपाल ल्याएको कोभिसिल्ड खोप सबै प्रदेशमा पुर्‍याइएको छ । बुधबारदेखि सबै प्रदेशमा लगाउन सुरु गरिने भएको छ । खोप लगाउँदा कुनै पनि नागरिकको मृत्यु भएमा उत्पादन गर्ने कम्पनीले क्षतिपूर्ति तिर्नुनपर्ने व्यवस्था गरिएको छ । 

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारी रोक्न आपत्कालीन प्रयोग गरिएको खोप भएकाले सरकारले उत्पादक कम्पनीलाई क्षतिपूर्ति नतिराउने भएको हो । एक अधिकारीले भने, ‘कोभिड खोपबाट मृत्यु भएमा न उत्पादक कम्पनीलाई मुद्दा लगाइनेछ, न त पीडित परिवारलाई क्षतिपूर्ति नै दिइनेछ । यो स्वेच्छाले लगाउने खोप हो ।’

खोप प्रयोग गर्दा कुनै पनि व्यक्तिको मृत्यु वा अंगभंग भएमा उत्पादक कम्पनीलाई सम्बन्धित देशले क्षतिपूर्ति मात्रै तिराउँदैन, मुद्दासमेत लगाउने गरिएको छ । नेपालमा भने मुद्दा नहाल्ने र क्षतिपूर्ति नतिराउने सर्तमा सरकारले आफ्ना नागरिकमा खोप प्रयोग गर्न लागेको हो । 

स्वास्थ्यसचिव लक्ष्मण अर्यालले प्रदेश र संघका स्वास्थ्य अधिकारीहरूसँग छलफल गर्दै खोप प्रयोग गर्दा अवाञ्छित असर र प्रभाव परेको अवस्थामा त्यसको उपचार सरकारले गर्ने बताए । ‘खोप लगाउँदा कुनै नागरिकको मृत्यु भएमा त्यसको क्षतिपूर्ति दिने विषयमा भने सरकारबाट कुनै पनि निर्णय भएको छैन,’ स्वास्थ्यसचिव अर्यालले भने, ‘खोपको प्रयोग गरेबापत उत्पादकलाई पनि क्षतिपूर्ति भराइनेछैन ।’ महामारीमा प्रयोग गर्ने आपत्कालीन खोप भएकाले कुनै पनि व्यक्तिलाई क्षतिपूर्ति नदिइने अर्यालको भनाइ छ । 

सरकारले पहिलो चरणमा बुधबार चार लाख ३० हजार कर्मचारीको सूची तयार पारी देशभरका ९५ खोप केन्द्रबाट खोप सञ्चालन गर्दै छ । त्यस्तै, निजी क्षेत्रका स्वास्थ्यकर्मीलाई पनि खोप लगाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । नयाँ पत्रिका