
काठमाडौं । सन् १९७० को दशक । अमेरिकामा जातीय भेदभावले गहिरो जरा गाडेको थियो । काला जातिका मानिसले गोरा जातिका मानिससमक्ष आफ्ना कुराहरू स्पस्ट राख्न पाउँदैनथेँ । उनीहरू आफ्ना पीडा कसैलाई अभिव्यक्त गर्न सक्दैनथेँ । बोले दण्डित हुनुपर्ने अवस्थामा पनि उनीहरू आफूमाथि गरिएको दमनबारे बोल्न चाहन्थे । तर, बोल्ने उचित स्थान र समय पाइरहेका थिएनन् ।
बोल्ने उचित स्थान र समय नपाइरहेका उनीहरूले आफ्ना भनाइहलाई रचनात्मक किसिमले राख्न थाले । उनीहरूले र्याप, ब्रेक डान्सिङ, पेन्टिङ र डिजेइङमार्फत आफ्ना पीडाहरू पोख्न थाले । काला जातिका मानिसहरूले यसलाई अभियानकै रूपमा चलाएर त्यसलाई प्रयोग गर्न थाले । उनीहरूको यस्तो कदमपछि सरकारले त्यहाँ ब्रेक डान्सिङ, पेन्टिङ र डिजेइङमाथि प्रतिबन्ध लगाएको थियो । तर, र्यापलाई भने निरन्तरता दिने निर्णय गर्यो । पछि र्याप, ब्रेक डान्सिङ, पेन्टिङ र डिजेइङको समिश्रणलाई हिप–हप भन्न थालियो ।
अमेरिकाबाट सन् १९७० को दशकमा सुरु भएको हिप–हप अहिले विश्वका विभिन्न देशमा प्रचलनमा आइसकेको छ । विभिन्न देशमा आ–आफ्नै भाषामा यस्ता हिप–हप गीतहरू बनाइन्छ, बजाइन्छ र गाइन्छ ।
नेपालमा भने सन् १९९२ (२०५२) मा हिप–हप संगीत भित्रियो । अमेरिकामा बस्दै आएका काठमाडौंका स्थानीय निर्णय एनएसके श्रेष्ठ नेपाल भित्रिएसँगै हिप–हप संगीत नेपाल भित्रिएको हो ।
अमेरिकामा छँदै र्याप सिकेका उहाँले त्यहाँ छँदा गीत रेकर्डिङ र ठाउँठाउँमा गीतहरू गाउने गर्नुहुन्थ्यो । अमेरिकामा सन् १९८९ ताका एमसी ह्यामर नामक र्याप चर्चित थिए । अमेरिकी शैलीको र्यापमा नेपाली मिसाएर गाउन माहिर निर्णय त्यतिबेलै अमेरिकामा ‘नेपाली ह्यामर’का नामले चिनिनुहुन्थ्यो ।
वि.सं. २०५५ मा नेपालमा र्यापको भनेको धेरैलाई थाहै थिएन । एकाधलाई थाहा भए पनि र्याप गीत बनिसकेको थिएन । श्रेष्ठ त्यतिबेला अमेरिकाबाट अडियो क्यासेट ल्याएर अभ्यास गर्ने गरेको अनुभव सुनाउनुहुन्छ । नेपालमा प्रयोग नै नभएको संगीत हुनाले मानिसहरूले हिप–हप संगीतलाई हेर्ने नजर फरक भएकाे उहाँकाे अनुभव छ ।
काठमाडौं लगायत शहरी क्षेत्रमा हिप–हप संगीतका केही युवा स्रोता भए पनि अन्य क्षेत्रमा धेरै ज्ञान थिएन । उहाँ भन्नुहुन्छ, ‘शहरका युवा स्रोता धेरै हुन्थे, अन्य स्थानमा धेरै चर्चित पनि थिएन ।’ हिप–हप गीतको सुरुवाती चरणमा ट्रयाक नहुने भएकाले आफूहरूले ब्याण्डमै र्याप गाएको उहाँ बताउनुहुन्छ ।
ईमेजमा हिप–हप
वि.सं. २०५५ साल । काठमाडौंमा एकदमै कम रेडियो मात्र थिए । रेडियोहरूमा प्रायःजसो आधुनिक, लोक र लाेकपप गीत बज्ने गर्दथ्यो । स्रोताहरूलाई पनि त्यस्तै गीत मन पर्ने । रेडियो सुन्ने जमात बढाउनका लागि रेडियो स्टेशनहरूले पनि त्यस्तै गीत बजाउने गर्थे ।
आधुनिक, लोक र लाेकपप गीत सुन्ने बानी परिसकेका स्रोतालाई एकैपटक भिन्दै स्वादकाे गीत सुनाउनु चुनाैतकाे विषय पक्कै थियाे । तर, श्रेष्ठमा केही नयाँ गर्ने चाहना थियो र उनी आफ्नाे इच्छामा दृढ थिए । आफूले अमेरिकामा सिकेर आएको हिप–हप संगीत नेपालीलाई पनि बुझाउनुपर्छ भन्ने साेचका साथ तत्कालीन केएटीएच (ईमेज एफएम) ९७.९ मेगाहर्जमा २०५५ माघ ९ गतेदेखि कार्यक्रम ‘ब्रिंग द हाउस डाउन विथ निर्णय एनएसके’ सुरु भयो ।
रेडियाे कार्यक्रम र अभ्यासलाई उहाँले निरन्तरता दिइरहनुभयाे । कार्यक्रम सुरु गर्नुअघि नै उहाँले दुईवटा अंग्रेजी एल्बम सार्वजनिक गरिसक्नुभएको थियो । अंग्रेजी एल्बमकै नामबाट कार्यक्रमको नाम राखिएको श्रेष्ठ बताउनुहुन्छ । ‘कार्यक्रमको नाम के राख्ने भन्ने अलमल थियाैं,’ उहाँले भन्नुभयो– ‘त्यतिबेला मेरो ब्रिंग द हाउस डाउन नामक अंग्रेजी एल्बम सार्वजनिक भइसकेको थियो । त्यहि एल्बमबाट राखियाे ।’
कार्यक्रम युवालक्षित भएकाले युवाहरूले मन पराएर प्रतिक्रिया दिने गरेको श्रेष्ठ सुनाउनुहुन्छ । उत्साहित हुँदै उहाँ भन्नुहुन्छ, ‘नयाँ किसिमको कार्यक्रम थियो, युवाहरूले मन पराउनुभयो । हामीलाई विभिन्न प्रतिक्रिया दिनुभयो जसले कार्यक्रमलाई झन् राम्रो बनाउने हौसला बढ्याे ।’
श्रेष्ठले २०५५ सालबाट सुरु गरेको कार्यक्रममा अंग्रेजी र्याप बजाउनुहुन्थ्यो । त्यतिबेला नेपाली र्याप गीतहरू नभएपछि अमेरिकाबाट नै क्यासेट मगाएर कार्यक्रम गर्नुहुन्थ्यो । त्यतिबेला ईमेजले अमेरिकाबाट रोयल्टी तिरेर क्यासेट किनेर उक्त कार्यक्रमलाई निरन्तरता दिएको थियो ।
सन् २००३ मा र्याप निर्णय एनएसके श्रेष्ठले व्यक्तिगत तेस्रो एल्बम निकाल्नुभयो । जसको एउटा गीत अहिले पनि युवा पुस्ता माझ लोकप्रिय छ । गीतको बोल थियो ‘दिन पनि बित्यो, रात पनि बित्यो’ । यो गीत जीवनको कोशेढुङ्गा नै सावित भएको उहाँको भनाइ छ । ‘यो गीतले म धेरै नेपालीमाझ चिनिने मौका पाएँ’, उहाँले भन्नुभयो ।
गीतको चर्चासँगै उहाँको रेडियोको कार्यक्रम पनि निरन्तर भइरहेको थियो । यहीबीचमा उहाँले हिप–हप म्युजिकमा लाग्न चाहने युवाहरूलाई पनि र्याप र हिप–हप संगीत सिकाइरहनुभएको छ । सिकाइ केन्द्र नै नखोले पनि कार्यक्रममार्फत धेरै युवाहरूलाई हिप–हप संगीतको बारेमा ज्ञान दिनु उहाँकाे उद्देश्य थियाे । कार्यक्रममा र्याप गीत संगीतको बारेमा जानकारी, नयाँ कलाकारलाई प्रोत्साहन गर्नु मुख्य उद्देश्य रहेको उहाँ बताउनुहुन्छ । अहिले बजारमा नेपाली र्यापरहरूको पाँचौं पुस्ता चर्चित रहेको उहाँको भनाइ छ ।
२२ वर्षदेखि श्रेष्ठको कार्यक्रम ‘ब्रिंग द हाउस डाउनविथ निर्णय एनएसके’ ईमेज एफएममा लगातार प्रसारण भइरहेको छ । त्यतिबेला हप्ताको एकदिन शुक्रबार मात्र आउने कार्यक्रम अहिले भने हप्ताको दुई दिन प्रसारण हुने गर्छ । शुक्रबारका कार्यक्रमलाई नयाँ हिप–हप गीतको बारेमा जानकारी, नयाँ र्यापसँगको कुराकानी प्रस्तुत हुन्छ भने शनिबार पुरानो हिप–हप गीतहरू बज्नुका साथै प्रेरणादायी युवाका संघर्ष एवं सफलताका अनुभवहरू प्रस्तुत हुने गर्छ ।
‘मनमा लागेका कुराहरू सांगीतिक माध्यममार्फत व्यक्त गरिने माध्यम नै हिप–हप हो । हामी यसलाई ‘आर्ट अफ स्टोरी टेलिङ’ पनि भन्न सक्छौं ।’ उहाँ भन्नुहुन्छ । पछिल्ला समय आएका अधिकांश हिप–हप गीत छाडा शब्दहरूले भरिएको स्वीकार्दै उहाँ त्यसलाई सभ्य तरिकाले अभिव्यक्त गर्नुपर्नेमा जोड दिनुहुन्छ । हिप–हपले जीवनको मरणदेखि अन्त्यसम्मको सम्पूर्ण कथालाई बोक्ने बताउँदै राम्रा हिप–हप गीतलाई दर्शक–स्रोताले मनपराउने उहाँको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस्