काठमाडौं, भदौ १२ । राष्ट्रियसभाको बैठकको विशेष समयमा सांसद शेरबहादुर कुँवरले पछिल्लो समय अछाममा प्राकृतिक विपद्अन्तर्गत् चट्याङबाट चारजनाको मृत्यु, २८४ घाइते र १७ भन्दा बढी चौपायाको मृत्यु भएकोतर्फ सदनको ध्यानाकर्षण गराएका छन् ।
उनले भने–‘चट्याङबाट विशेषगरी अछामको पञ्चदेवल विनायक नगरपालिका क्षेत्र बढी पीडित छ । तत्काल भूगर्भविद् पठाइ के कारणले सो क्षेत्रमा चट्याङ पर्यो ? जानकारी दिनुपर्यो । नियन्त्रणमा कार्ययोजना ल्याउनुपर्यो । जोगिन जनचेतनाका कार्यक्रम सन्चालनसमेत गर्नुपर्यो ।’
सांसद राधेश्याम अधिकारीले सिंगापुरमा स्वास्थ्योपचार गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सूचना–प्रविधिको प्रयोग गरी मन्त्रिपरिषद्को बैठक सम्पन्न गरेकामा सरकारको गोपनीयता धरापमा परेको टिप्पणी गरे ।
उनले भने–‘भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद्को बैठक गर्दा सरकारको गोपनीयता कसरी जोगियो ?’
सांसद वृषेशचन्द्र लालले संसदीय गतिविधिप्रति सरकारलाई उत्तरदायी बन्न आग्रह गर्दै भूमिसम्बन्धी ऐनमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीले सदनमा गलत सूचना दिएको बताए ।
उनले भने–‘राज्यशक्तिको बाँडफाँट संविधानअनुसार हुनुपर्छ ।’
सांसद नैनकला ओझाले सुकुम्वासी र भूमिहीनका समस्या समाधान गर्न तथा सरकारी अस्पतालमा बिग्रेका उपकरण मर्मतमा ध्यान दिन आग्रह गरिन् ।
उनले भनिन्–‘सरकारी अस्पतालका उपकरण बिग्रेका कारण जनताले दुःख पाइरहेका छन् । तर, मन्त्रालयले ध्यान दिएको छैन ।’
सांसद अनिता देवकोटाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलमाथि बुधबार भएको सांघातिक हमलाको निन्दा गर्दै आक्रमणकारीमाथि किटानी जाहेरी दिँदा पनि प्रहरीले पक्राउ नगरेकामा सरकारको ध्यानाकर्षण गराइन् ।
उनले भनिन्–‘प्रतिष्ठानको पूर्वाधारमा सरकारले ध्यान गएको छैन । रु दुई करोडले के बन्छ ? सरकारले आफ्नो गोपनीयतामा ध्यान दिनुपर्यो ।’
सांसद रामनारायण बिँडारीले सूचना–प्रविधिबाट सरकारको गोपनीयता नजाने विचार राख्दै अत्याधुनिक सूचना–प्रविधि प्रयोग गरी भिडियो कन्फ्रेन्सबाट प्रधानमन्त्री ओलीले सिंगापुरबाट मन्त्रिपरिषद् बैठक बस्नु स्वागतयोग्य कुरा भएको बताए ।
उनले भने–‘भिडियो कन्फ्रेन्सको विरोध गर्नुको कुनै औचित्य छैन ।’
डेंगी नियन्त्रण गर्न माग
शून्य समयमा सांसद उदया शर्मा पौडेलले लामखुट्टेका कारण डेंगी रोगको प्रकोप देशभरि फैलिँदा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको काम प्रभावकारी नदेखिएको बताउँदै तत्काल लामखुट्टे नियन्त्रणका लागि ध्यान दिन आग्रह गरिन् ।
उनले भनिन्–‘सरकारले लामखुट्टेको टोकाइबाट जोगिन वितरण गर्न मगाएको झुल भन्सार कार्यालयमा रोकिएको छ भन्ने सुनेको छु । यो के भएको हो ? जवाफ दिनुपर्यो । जनचेतनाका कार्यक्रम ल्याउनुपर्यो ।’
सांसद खेमकुमार विश्वकर्माले नेपाल भ्रमण वर्ष सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेकामा जोड दिँदै तीनकुनेको खुलाचौरमा आकर्षक बगैंचा निर्माण गर्न सुझावसमेत दिए ।
सांसद चक्रप्रसाद स्नेहीले कानुन सबै जनताका लागि समान हुने बताउँदै ‘भीडतन्त्रले कानुनलाई हात लिने काम रोक्न सरकारले ध्यान दिनुपर्छ’–भने । रासस
प्रतिक्रिया दिनुहोस्