२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


चीन गएको कन्टेनर वर्ष दिनसम्म फर्किएन


0
Shares

काठमाडौं । रसुवाको गोसाइँकुण्ड गाउँपालिका ५ स्याफ्रुका फुर्पा तामाङको ना६ख ३५९१ र बा४ख १४९८ नम्बरको दुईवटा कन्टेनर चीनमा रोकिएको एक वर्ष भयो । १५ माघ ०७६ मा सामान लिएर केरुङ गएका कन्टेनर त्यसपछि नेपाल आउनै पाएनन् ।

त्यस समय ल्होसार परेकाले करिब १ महिना आयात निर्यात ठप्पजस्तै भयो । ल्होसारपछि सुरुमै पालो आउने आसमा उनले आफ्नो गाडी नेपाल चीन सिमानाबाट करिब २ सय मिटर चीनतर्फको भूभागमा पार्किङ गरेर राखे । तर, ल्होसार नसकिदै कोरोना महामारी फैलिएपछि चीनले नाका बन्द गर्यो । त्यसपछि आवतजावत नै बन्द भयो ।

नाका बन्द भएको एक वर्ष बित्दा पनि व्यवसायीहरुलाई आफ्ना कन्टेनर कुन अवस्थामा छन् ? थाहा छैन् । उनी भन्छन्, एक वर्ष भयो, गाडी चलाउन नपाएको, गाडीको बिलबुकलगायत कागजपत्र पनि गाडीमै छन्, अवस्था के छ ? थाहा छैन ।

अर्का कन्टेनर व्यवसायी राजु श्रेष्ठको ना ६ख २५७२ र ना६ख ९६१६ नम्बरका दुई कन्टेनर पनि चीनमा रोकिएको एक वर्ष भयो । गाडीको अवस्थाबारे नै जानकारी नपाउँदा उनी टाट पल्टने अवस्थामा आएको बताउँछन् ।

उनी भन्छन्, ‘गाडी स्टार्ट नगरेको एक वर्ष भयो, के छ अवस्था ? केही थाहा छैन ।’ फुर्पाले आफ्नो कन्टेनर नेपाल ल्याउन जिल्ला प्रशासन कार्यालय रसुवामा दुईपटक अनुरोधसहितको पत्र दिइसकेका छन् । तर, कुनै निकायले पहल नगरेको उनको गुनासो छ ।

‘ लालपुर्जा राखेर बैकबाट ऋण लिएर किनेको गाडी एक वर्ष भयो देख्न पाएको छैन, बैकको ऋण किस्ता तिर्न सकेको छैन, घरजग्गा सबै जाने भयो’, उनले भने । नयाँ पत्रिका