थापाको व्यङ्ग्य– ‘राष्ट्रपति, प्रधानमन्त्री र संविधानसभा अध्यक्षसँग बेग्लै संविधान रहेछ’ • Image Khabar Image Khabar


थापाको व्यङ्ग्य– ‘राष्ट्रपति, प्रधानमन्त्री र संविधानसभा अध्यक्षसँग बेग्लै संविधान रहेछ’


Imagekhabar
१२ माघ २०७७, सोमबार १९:३२

थापाको व्यङ्ग्य– ‘राष्ट्रपति, प्रधानमन्त्री र संविधानसभा अध्यक्षसँग बेग्लै संविधान रहेछ’

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले संविधान निर्माणको क्रममा एउटा कुरा भन्ने र पछि आएर संविधानमाथि प्रहार गर्नु ठिक नभएको तर्क गर्नुभएको छ । प्रतिनिधि सभा विघटनविरुद्ध संवैधानिक इजलासमा भइरहेको सुनुवाइका क्रममा महान्याधिवक्ता अग्नी खरेलतर्फ संकेत गर्दै उहाँले संविधान एउटै भएकाले कुरा फेरेर संविधानमाथि प्रहार गर्नु ठिक नभएको बताउनुभएको हो ।

वरिष्ठ अधिवक्ता थापाले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र संविधानसभा अध्यक्ष सुवास नेम्वाङसँग बेग्लै संविधान भए अर्कै कुरा भन्दै व्यङ्ग्य गर्नुभयो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेकोे विघटन संविधान विपरित भएको उहाँको जिकिर थियो । थापाले विघटनबारे राजपत्रमा अतिरिक्ताङक सूचना प्रकाशित गरिएको भन्दै त्यसलाई ठाकछोप गर्ने प्रयास भइरहेको जिकिर गर्नुभयो ।

महान्यायाधिवक्ता खरेलले राजपत्र खोजी भएपछि मात्र प्रकाशन गरेको भन्दा पनि फरक नपर्ने भन्दै वरिष्ठ अधिवक्ता थापाले अदालतलाई ढाँट्न वा छल्न नमिल्ने बताउनुभयो । इजलासमा फेरी पनि राजपत्रको वैधानिकतामाथि प्रश्न उठ्ने उहाँको दाबी छ ।

इजलासबाट बारम्बार आएको बहुमतको प्रधानमन्त्रीले सरकार चलाउँदिन भन्यो भने के गर्ने भन्ने प्रश्नको जवाफमा वरिष्ठ अधिवक्ता थापाले बहुमत पाउने बित्तिकै सबै अधिकार प्रधानमन्त्रीले पाउने हो र ? भन्दै संविधानलाई मार्न नपाइने तर्क गर्नुभयो ।

इजलासले अर्को प्रधानमन्त्री खोज्ने नभई विघटनको अधिकार प्रधानमन्त्रीलाई छ की छैन भनेर हेर्नुपर्ने थापाकोे तर्क थियो । बहसका क्रममा उहाँले कानुन व्यवसायमा गुरुका पनि गुरु मानिने कृष्णप्रसाद भण्डारी बहसमा उत्रिँदा प्रधानमन्त्रीलाई किन छटपटी भएको भन्दै प्रश्न उठाउनुभयो ।

माघ ६ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बहसका लागि ३ सय भन्दा धेरै अधिवक्ताहरू भएको भन्दै बहसका लागि ३० मिनेट समय निर्धारण गर्नुभएको थियो । दैनिक ७ देखि ९ जनाले बहस गर्ने गरेकोमा साेमबार दुई जना वरिष्ठ अधिवक्ताहरूले मात्र बहस गर्नुभएको थियो । साेमबार वरिष्ठ अधिवक्ता मेघ राज पोखरेल र थापाले मात्र बहस गर्नुभयो । मंगलबार हुने सुनुवाइको सुरुवात पनि थापाले गर्नुहुनेछ ।

बहस सकिए लगत्तै इजलासभित्रै वरिष्ठ अधिवक्ता भण्डारीले प्रधानमन्त्रीले आफूमाथि गरेको टिप्पणीलाई लिएर इजलासको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले प्रधानमन्त्री ओलीले आफूलाई हेयको दृष्टीले हेर्न मिल्छ भन्दै कारबाही गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्