५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


निगमको वाइडबडी जहाज १ सय ३२ यात्रु लिएर पहिलो पटक जापानका लागि उड्यो


0
Shares

काठमाडौं । नेपाल वायुसेवा निगमले १२ वर्षपछि आज पहिलोपटक जापानका लागि सिधा उडान गरेको छ ।

निगमको वाइडबडी जहाज आज बिहान २ बजेर ४२ मिनेटमा जापानको ओसाकाको लागि उडेको हो ।

२ सय ७४ सिटे एअरबसको वाइडबडी जहाजमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढा, ६ जना सांसदसहित एक सय ३२ यात्रु जापान प्रस्थान गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

यो पहिलो उडानमा निगमका १० जना कर्मचारी पनि सवार छन् ।

काठमाडौंबाट उडेको जहाज ६ घन्टा २० मिनेटमा ओसाका पुग्नेछ । जापान पुगेको २ घण्टापछि नै जहाज फेरि नेपालको लागि उड्नेछ ।

निगमले सातामा मंगलबार, बिहीबार र शनिबार काठमाडौ–ओसाका उडान गर्ने तालिका राखेको छ । जापानमा पनि नेपाल वायुसेवा निगमको पहिलो उडानलाई स्वागत गर्ने तयारी भैरहेको छ ।

जहाजलाई स्वागत गर्न जापानका लागि नेपाली राजदूत नै विमानस्थल पुग्ने कार्यक्रम छ ।

निगमले एकतर्फी टिकटको मूल्य ३६ हजार ९ सय ९९ र दुईतर्फी टिकटको मूल्य ७२ हजार ८ सय १४ रुपैँया तोकेको छ ।

यो उडानसँगै सातवटा मुलुकमा निगमका नौ वटा अन्तर्राष्ट्रिय रुट पुगेका छन् ।

जहाज अभावलगायतका व्यवस्थापकीय कमजोरीका कारण निगमले २०६३ साल चैत २९ गते ओसाका उडान स्थगन गरेको थियो ।

यसअघि २०५१ साल कात्तिक १३ गतेबाट जापान उडान थालेको निगमले काठमाडौंबाट चीनको सांघाईमा अवतरण गर्दै जापानका लागि उडान गर्ने गर्दथ्यो ।