
काठमाडौं, भदौ ११ । काठमाडौं–निजगढ जोड्ने द्रुतमार्गको प्रस्थानविन्दु ललितपुरको खोकना नै हुने भएको छ ।
तर, सिकाली मन्दिर र प्राचीन सम्पदा कुदेश क्षेत्रलाई संरक्षण गरी रेखांकन परिवर्तन गरिएको छ ।
मन्त्रिपरिषद्बाट स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा खोकनासँगै महादेवटारदेखि लेनडाँडा क्षेत्रको रेखांकन परिवर्तन गरिएको हो ।
परियोजनाबारे जानकारी दिन नेपाली सेनाले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा द्रुतमार्गको प्रस्थानविन्दु खोकनाको रेखांकन परिवर्तन गरिने जानकारी दिइयो ।
परियोजना प्रमुख महासेनानी शरदलाल श्रेष्ठले श्रीकाली मन्दिरलाई संरक्षण गरी सामान्य रेखांकन परिवर्तन गरिने जानकारी दिए ।
द्रुतमार्ग निर्माणका लागि एक खर्ब ७५ अर्ब रुपैयाँ आवश्यक पर्ने नेपाली सेनाले जनाएको छ ।
मन्त्रिपरिषद्ले हालै स्वीकृत गरेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)अनुसार त्यति रकम लाग्ने जानकारी दिइएको हो ।
यो लागत पूर्वनिर्धारित् रकमभन्दा ३८ अर्ब रुपैयाँ बढी हो ।
परियोजना निर्माण सम्पन्न गर्न तीन वर्ष ६ महिना लाग्ने सेनाले जनाएको छ ।
डीपीआरअनुसार यो परियोजनाका लागि एक लाख ५१ हजार रुख काटिनेछन् ।
नयाँ डीपीआरअनुसार द्रुतमार्गको कुल लम्बाइमध्ये ६.४१ किलोमिटर सुरुङमार्ग हुनेछ भने १०.५५ किलोमिटर पुल र ५५.५ किलोमिटर सडक हुनेछ ।
यसमध्ये हालसम्म २५.४४ किलोमिटर खन्डको ‘सबग्रेड फर्मेसन लेभल’मा काम भएको छ भने झन्डै २७ किलोमिटर क्षेत्रका काम भइरहेको छ ।
डीपीआर बन्नुभन्दा अगाडि नै परियोजनाको ८ प्रतिशत काम सेनाले सम्पन्न गरिसकेको जनाएको छ ।
परियोजनाबारे प्रत्येक चार महिनामा पत्रकार सम्मेलन गरी जानकारी दिने द्रुतमार्ग आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्