१० श्रावण २०८२, शनिबार | Sat Jul 26 2025


विकासका नाममा धमाधम सडक निर्माण, निम्तियो जोखिम


0
Shares

डीबी विष्ट

बझाङ, भदौ ११ । विकासका नाममा अध्ययनबिनै सडक निर्माण गर्दा पहिरोका कारण बझाङमा सिंगो गाउँ नै जोखिममा परेको छ । यातायात सुविधाको बहानामा सर्भेविनै मनोमानी ढंगले सडक बनाउँदा गाउँ नै विस्थापित हुने अवस्थामा पुगेको हो ।

बझाङको थलारा गाउँपालिका वडा नम्बर ४ मा सडक पुर्‍याउने भन्दै २०७१ सालमा सडक सर्भे गरियो । सर्भे गरिएको २ वर्षपछि झण्डै १ करोड ७० लाख रुपैयाँको लागतमा गाउँमा सडक पुग्यो । स्थानीय बासिन्दा निकै खुःसी भए । गाडी चलेको हेर्ने स्थानीयको सपना सडक पुगेको केही महिना नपुग्दै २०७४ साल असार २८ गते परेको पानीले चकनाचुर बन्यो ।

पहिरो गाउँमा खस्न थालेपछि दुई परिवार पूर्ण रुपमा विस्थापित भएका छन् भने २३ परिवार पहिरोको उच्च जोखिममा छ । पहिरो खस्ने डरले पानी पर्दा रुवाबासी गर्नुपर्ने अवस्था भएको र आफूहरु जोखिम मोलेर बसिरहेको महिला स्वास्थ्य स्वयंसेविका निर्मलादेवी जोशीको गुनासो छ ।

सानो पानी पर्नासाथ गाउँमाथि खनिएकोे सडकबाट पहिरो खस्न थालेपछि भागदौड मच्चिने गरेको छ । जसका कारण स्थानीय बासिन्दा राति राम्रोसँग निदाउन पनि सकिरहेका छैनन् ।

सर्भे नगरी मनोमानी तरिकाले सडक कटान गरिएकाले यो समस्या आएको स्थानीयको गुनासो छ । विकासका नाममा आफूहरुलाई उठिबास लगाएको भन्दै उनीहरु आक्रोशित भएका छन् । पहिरो छेक्नका लागि भन्दै केन्द्रदेखि प्रदेश सरकारले झण्डै १ करोड ३० लाख रुपैयाँ बराबर खर्च गरे पनि तटबन्ध आवश्यक ठाउँमा नलगाउँदा बस्ती झन् जोखिममा परेको स्थानीय दुर्गादत्त जोशीको भनाइ छ । 

२३ परिवारको घर पहिरोको उच्च जोखिममा छ भने झण्डै ६५ परिवारको ८० रोपनी जग्गामा पनि क्षति पुगेको छ । विकासका नाममा अध्ययन–मनन् नगरी  हुँदै आएका मनपरी क्रियाकलापलाई नियन्त्रण गर्न आवश्यक छ । 

भिडियो हेर्नुहोस्