
कञ्चनपुर, भदौ ११ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा घाइते वन्यजन्तुको उद्धार तथा उपचार केन्द्र स्थापना गरिएको छ ।
शुक्लाफाँटा नगरपालिका–८ स्थित बैजनाथ सामुदायिक वनमा घाइते वन्यजन्तुको उपचार गर्ने उद्देश्यले उद्धार तथा उपचार केन्द्र स्थापना गरिएको हो । झण्डै २८८ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनमा अजिंगर, बँदेल, बाँदरलगायतका वन्यजन्तुहरु घाइते अवस्थामा भेटिने गरेका छन् ।
वन क्षेत्रका घाइते वन्यजन्तुहरुको प्राथमिक उपचार गर्ने उद्देश्यले ‘वन्यजन्तु उद्धार तथा उपचार केन्द्र’ को स्थापना गरिएको शुक्लाफाँटा नगरपालिका–८ का वडा अध्यक्ष बहादुर महराले जानकारी दिए । वनमा भेटिएका घाइते वन्यजन्तुलाई तालिम प्राप्त जनशक्तिले उद्धार गरी उपचार केन्द्रमा ल्याएर उपचार गर्ने र वन्यजन्तुलाई पुनः वन क्षेत्रमा छोडिने केन्द्रले जनाएको छ ।
हालसम्म घाइते अवस्थामा भेटिएका एउटा अजिंगर र दुईवटा बँदेलको उपचार गरिएको जनाइएको छ । १ लाख ५० हजार रुपैयाँ लगानीमा निर्माण गरिएको केन्द्रमा चालु आर्थिक वर्षमा वन्यजन्तुको उपचारका लागि एक जना भेटनरी जेटिएसमेत राख्ने योजना रहेको बताइएको छ ।
बैजनाथ सामुदायिक वनमा स्थापना गरिएको वन्यजन्तु उद्धार तथा उपचार केन्द्र जिल्लामै पहिलो हो ।
प्रतिक्रिया दिनुहोस्