
काठमाडौं, भदौ १० । सवारी–साधनहरुको ‘कुम्भमेला’कारुपमा परिचित ‘नाडा अटो शो’ राजधानीमा सुरु भएको छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको १४औं संस्करणको प्रदर्शनीको मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरे ।
सो अवसरमा मन्त्री खतिवडाले व्यवसायीलाई इमान्दारितापूर्वक पेस हुन आग्रह गरे ।
कतिपय व्यवसायीले विद्युतीय गाडी भन्दै ‘हाइब्रिड’ गाडी ल्याउन खोजेकाले त्यसमा विद्युतीय गाडीलाईजति छुट दिन नसकिने उनले स्पस्ट पारे ।
विद्युतीय सवारी उत्पादन गर्दा २५ प्रतिशतसम्म करछुट दिन सरकार तयार रहेको उनले उल्लेख गरे ।
व्यवसायीले इमान्दारितापूर्वक काम गरे सरकारबाट पाउने सुविधा पाउनसक्ने उनको भनाइ थियो ।
सवारी आयात १० वर्षमा ४ गुणाले बढिसकेको भन्दै मन्त्री खतिवडाले विद्युतीय गाडीको ‘एसेम्बल’ गर्ने उद्योगलाई प्राथमिकतामा राख्ने बताए ।
नेपाल उद्योगा वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अटो व्यवसायलाई सहज बनाउन सरकारले पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए ।
प्रदर्शनीलाई बढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन अटोसम्बन्धी सेवा दिने वित्तीय संस्था, बिक्रीपछिका सेवा एवं इन्स्योरेन्सका छुट्टाछुट्टै ‘स्टल’ राखिएको नाडका अध्यक्ष शम्भुप्रसाद दाहालले बताए ।
प्रदर्शनीमा ठूला तथा साना गरी करिब १६० ओटा स्टल र ‘ब्लक’ रहेको नाडाले जनाएको छ ।
यही भदौ १५ गतेसम्म चल्ने प्रदर्शनीको ७५ हजारजनाले अवलोकन गर्ने अनुमान आयोजकको छ ।
प्रतिक्रिया दिनुहोस्