Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


‘भिडियो कन्फ्रेन्स’मार्फत् बसेको मन्त्रिपरिषद् बैठकप्रति कांग्रेसको आपत्ति


0
Shares

काठमाडौं, भदौ १० । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले ‘भिडियो कन्फ्रेन्स’का माध्यमबाट मन्त्रिपरिषद्को बैठक बस्ने कार्यविधि शासनविपरीत भएको जनाउँदै आपत्ति प्रकट गरेको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको प्रारम्भमै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले मन्त्रिपरिषद् सन्चालनसम्बन्धी संशोधन गरिएको कार्यविधि फिर्ता लिन सरकारसँग आग्रह गरे ।

‘उच्च र आधुनिक प्रविधिको प्रयोग गर्नु राम्रो पक्ष हो । पछिल्लो कार्यविधि संशोधनबाट अधिकारको दुरुपयोग भएको छ’–उनले भने–‘प्रधानमन्त्री स्वदेशमा नभएपनि उहाँकै अध्यक्षतामा बैठक सन्चालन गर्नु ठीक होइन । भिडियो कन्फ्रेन्सबाट बैठक गर्दा सूचना चुहिनेमात्र होइन, लिएको शपथविपरीत हुन जान्छ ।’

प्रमुख सचेतक खाँणले प्रधानमन्त्री बाहिर जाँदा उनको कार्यभार सम्हाल्ने व्यवस्थाअनुसार कार्यभार तोकिएको जानकारी सभामुखले संसदलाई गराइसकेको बताउँदै ‘प्रधानमन्त्रीको अध्यक्षतामा भिडियो कन्फ्रेन्सबाट बैठक बस्दा कार्यभार तोकिनुको अर्थ के रह्यो ?’ भनी प्रश्न गरे ।

बैठकमा प्रमुख सचेतक खाँणले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको तर्फबाट स्वास्थ्य उपचारकाक्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरे । रासस