बेरोजगारीको भयावह अवस्था: साढे चार हजार पदमा विज्ञापन खोल्दा साढे चार लाख आवेदन • Image Khabar Image Khabar


बेरोजगारीको भयावह अवस्था: साढे चार हजार पदमा विज्ञापन खोल्दा साढे चार लाख आवेदन


Imagekhabar
९ माघ २०७७, शुक्रबार ०६:११

बेरोजगारीको भयावह अवस्था: साढे चार हजार पदमा विज्ञापन खोल्दा साढे चार लाख आवेदन

काठमाडौं । देशमा बेरोजगारीको अवस्था, सरकारी सेवाका लागि लोकसेवा आयोगले साढे चार हजार पदका लागि विज्ञापन खोल्दा साढे चार लाख आवेदन परेका छन् । अर्को विडम्बना, यही वेला आएको कोभिड महामारीले गत वर्ष जम्मा तीन सय चारजनाले जागिर पाएका छन्, धेरै परीक्षा हुन सकेका छैनन् । 

लोकसेवा आयोगले गत आर्थिक वर्षमा चार हजार सात सय ५४ पदका लागि विज्ञापन गरेको थियो । तर, चार लाख ५१ हजार पाँच सय २६ जनाको आवेदन परेको थियो । ‘तर, गत वर्षका धेरैजसो विज्ञापनअनुसार अहिले परीक्षा सञ्चालन भइरहेका छन्, महामारीका कारण गत वर्षका धेरै परीक्षा रोकिएका थिए,’ आयोगका प्रवक्ता तोयनारायण सुवेदीले भने । 

त्यस्तै, अघिल्लो वर्ष ०७५/७६ मा भने एक लाख ४३ हजार आठ सय ४० मात्रै आवेदन परेका थिए । यो वर्ष भने पछिल्लो १० वर्षकै सबैभन्दा कम आवेदन परेको आयोगको तथ्यांक छ । त्यस्तै, वर्ष ०७४/७५ मा पाँच लाख ६७ हजार आठ सय ५३ र त्योभन्दा अघिल्लो वर्ष आठ लाख ४४ हजार आवेदन परेका थिए । 

गत वर्ष सबैभन्दा धेरै आवेदन नायब सुब्बा (नासु)का लागि परेका छन् । नासुमा दुई लाख ४२ हजार दुई सय ४६ आवेदन परेका थिए । त्यस्तै, सहसचिवमा तीन हजार दुई सय १४, उपसचिवमा नौ हजार दुई सय ४३, अधिकृतमा ७७ हजार ६ सय र खरिदमा एक लाख १५ हजार ६ सय ५८ आवेदन परेको आयोगले जनाएको छ । 

यो वर्ष अधिकृतको विज्ञापनमा करिब ३१ हजारको आवेदन परेको छ । परराष्ट्र, प्रशासन, लेखापरीक्षण तथा संयुक्तमा दुई सय ४० पदका लागि आवेदन माग गरिएको थियो । जसमा २७ हजार सात सय ५५ जनाको आवेदन परेको लोकसेवा आयोगले जनाएको छ । त्यस्तै, न्यायसेवामा एक सय २० जनाको आवेदन खुलेकोमा दुई हजार पाँच सयजनाको आवेदन परेको छ । न्यायसेवामा कानुन पढेकाले मात्र आवेदन दिन पाउँछन् । 

गत वर्षको तुलनामा आवेदन कम परे पनि प्रतिपद औसतमा भने यो वर्ष थोरै रहेको छ । गत वर्ष प्रतिपद औसत ७६ आवेदन रहेका थिए भने यो वर्ष ८६ छ । यो वर्ष २१ पुससम्म अधिकृतका लागि आवेदन भने म्याद थियो ।

सरकारी सेवाप्रति प्रदेश २ का बासिन्दामा सबैभन्दा धेरै आकर्षण देखिएको छ भने सरकारी सेवामा प्रवेश गर्दा सबैभन्दा बढी सफल लुम्बिनी प्रदेशका बासिन्दा हुने गरेको पाइएको छ । लोकसेवा आयोगले गरेको विश्लेषणमा प्रदेश २ मा सरकारी सेवाप्रति आकर्षण देखिएको हो । 

लोकसेवा आयोगले खुलाएका विज्ञापनमा सबैभन्दा धेरै दरखास्त प्रदेश २ बाट परेका छन् । आर्थिक वर्ष ०७६/७७ मा आयोगमा परेका चार लाख ५१ हजार पाँच सय २६ दरखास्तमध्ये २३.५७ प्रतिशत प्रदेश २ बाट परेका छन् । सबैभन्दा धेरै दरखास्त पर्ने १० मध्ये सात जिल्ला यही प्रदेशका छन् । सबैभन्दा धेरै दरखास्त सप्तरी, सर्लाही, धनुषा र सिराहाबाट परेका छन् । पाँचौँ नम्बरमा कैलाली छ । त्यसपछि महोत्तरी, रौतहट, गुल्मी, बारा र स्याङ्जा छन् । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्