१० श्रावण २०८२, शनिबार | Sat Jul 26 2025


कोशी पीडितको अनशन ११ औं दिनमा : ‘माग पुरा नभए पाइलट च्यानलको काम रोक्छौं’


0
Shares

काठमाडौं । कोशी पीडितहरुले क्षतिपूर्तिको माग गर्दै कोशी ब्यारेजमा गरेको अनशन ११ औं दिन पनि जारी छ ।

कोशी नदी कटान डुबान संघर्ष समितिले आफ्ना तीन सूत्रीय माग राख्दै कोशी ब्यारेजमा रिले अनशन जारी राखेको संघर्ष समितिका अध्यक्ष महिदेव चौधरीले बताए । 

कोशी ब्यारेज निर्माणका बेला सन् १९५४ मा भारत र नेपालबीच भएको सम्झौताअनुसारको क्षतिपूर्तिको रकम पाउनुपर्ने माग उनीहरुको छ ।

५३ हजार बिघाभन्दा बढी जग्गा क्षति भएकामा सात हजार बिघा जग्गाको ‘भेरिफिकेशन’ गरेर त्यसवापतको क्षतिपूर्ति रकम दिन भारतीय अधिकारीले नेपाललाई रु ८० करोड उपलब्ध गराएपनि अहिलेसम्म त्यो रकम नपाएको र अरु जग्गाको पाउनुपर्ने क्षतिपूर्तिसमेत नदिएको पूर्वसांसद नागेन्द्र झाको भनाइ छ ।

माग पूरा नभए अहिले भारतले निर्माण गरिरहेको पाइलट च्यानलको कामसमेत रोक्ने उनले चेतावनी दिए ।

सुनसरी, सप्तरी र उदयपुरबाट आएका पीडितले जग्गामा भएको बाली क्षतिको मुआब्जा पाउनुपर्ने, जग्गाको सुरक्षा हुनुपर्ने र कोशी निर्माणका बेला भारत र नेपालबीच भएको सम्झौता रकम पाउनुपर्नेलगायतका माग राख्दै आफूहरु आन्दोलनमा उत्रेको बताए ।

भारतीय पक्षले मुआब्जा र क्षतिपूर्ति रकम उपलब्ध नगराएको भन्दै पीडित गत साउन ३२ गतेदेखि नै अनशनमा बसेका छन् ।

ब्यारेज बनेपछि घरखेत र बाली गुमाएका परिवारलाई भारतले क्षतिपूर्ति रकम उपलब्ध गराउने सम्झौता भएपनि हालसम्म १५ हजारभन्दा बढी परिवारको ५३ हजार बिघाभन्दा बढी जग्गा क्षति भएको पीडितको भनाइ छ ।