
दीपक श्रेष्ठ, योगेश लामा र विनोद बजगाइँ (इमेज)
काठमाडौं, भदौ ९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको बालुवाटारस्थित ललिता निवासको जग्गामा भवन निर्माणको काम अझैपनि रोकिएको छैन ।
गएको महिना काठमाडौं महानगरपालिकाको ४ नम्बर वडा कार्यालयले हामीसित निर्माणको काम रोक्ने प्रतिबद्धता जनाएपनि निर्माणको काम भने निरन्तर चलिरहेको छ ।
४ नम्बर वडाका वडाध्यक्ष मोहनबहादुर बिष्टले नक्सापासबिना अनियमित तरिकाबाट बन्दै गरेको यो संरचना रोक्न लगाउने र अटेर गरेमा भत्काउने प्रतिबद्धता जनाएका थिए ।
गत महिना रिपोर्ट तयार पार्दा यहाँ पिल्लर उठाउँदै पछाडिको भागमामात्र पर्खाल लगाइएको थियो भने अहिले चारैतिर ‘वाल’ लगाउने काम तदारुकताका साथ अघि बढिरहेको देख्न सकिन्छ ।
उक्त स्थानको ११३ रोपनी जग्गामा कुनै किसिमको संरचना निर्माण वा किनबेच गर्न नपाइने गरी रोक लगाइएको छ ।
तर, जग्गाधनी मीनबहादुर गुरुङले निर्माणकार्य निरन्तर अघि बढाएको पाइएको हो ।
वडा नम्बर–४ का अध्यक्ष बिष्टले विवादित जग्गामा संरचना निर्माण भइरहेको थाहा पाएपछि आफूले जग्गाधनी गुरुङलाई कार्यालयमा डाकेर तत्काल निर्माण रोक्न भनको दाबी गर्छन् ।
मन्त्रिपरिषद्ले रोक्का गरेको र अख्तियारले छानबिन अघि बढाइरहेको विवादित जग्गामा नक्सापास नै नगरी भवन निर्माण गर्ने र हाकाहाकी यस्तो अनियमिता गर्ने छुट दिने सम्बन्धित वडाका जनप्रतिनिधिमाथि सरकारले कस्तो कारबाही गर्ला ? प्रतीक्षाको विषय बनेको छ ।
प्रतिक्रिया दिनुहोस्