६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024


सरकारले उपनिर्वाचनलाई प्रभावित पार्न खोजेको आरोप, संसदमा कसले के भने ?


0
Shares

काठमाडौं, भदौ ९ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले उपनिर्वाचनलाई प्रभावित पार्न खोजेको आरोप लगाएको छ ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सचेतक पुष्पा भुसालले उपनिर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा सरकारले कर्मचारीको व्यापक सरुवा गरेर उपचुनावलाई प्रभावित पार्न खाजेको आरोप लगाइन् ।

उनले सहसचिव सरुवा गर्दा वरिष्ठताका आधारमा प्रदेश मन्त्रालयमा सचिव बनाएर पठाउने आफ्नो नीतिगत निर्णय उल्लंघन गरेर सरकारले ७६ सहसचिवको सरुवा गरेको आरोप लगाइन् ।

सचेतक भुसालले उपचुनावको तयारीमा रहेको निर्वाचन आयोगका सहसचिवहरुको पनि सरुवा गरेर सरकारले निर्वाचन आयोगलाई पनि प्रभावित बनाउन खोजेको आरोप लगाइन् ।

रेन्जर बटालियन खारेज गर्न माग

सत्तारुढ दल नेकपाका प्रमुख सचेतक देव गुरुङले नेपाली सेनाभित्रको रेन्जर बटालियन खारेज गर्न माग गरे ।

द्वन्द्वकालमा नेपाल सरकारले अमेरिकी सहयोगमा नेपाली सेनाभित्र ‘अपरेसन’का लागि भनेर विशेष संरचना (रेन्जर बटालियन) बनाएको भन्दै उनले मुलुकमा द्वन्द्वको अवस्था नरहेकाले उक्त संरचना खारेज गर्न माग गरेका हुन् ।

संयुक्त आयोगको बैठक निरर्थक : गिरि

कांग्रेस सांसद प्रदीप गिरिले हालै काठमाडौंमा सम्पन्न नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठक निरर्थक भएको टिप्पणी गरे ।

उनले बैठकबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसदलाई दिएको जानकारी र परराष्ट्र मन्त्रालयको वक्तव्य मेल नखाएको जिकिर पनि गरे ।

कश्मिरबारे आधिकारिक धारणा माग

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद महेन्द्र राय यादवले भारत प्रशासित कश्मिरको हालैका विषयमा नेपाल सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न माग गरे ।

चितवनमा प्रदर्शनप्रति ध्यानाकर्षण

सत्तारुढ दलका सांसद गजेन्द्रबहादुर महतले चितवनमा भइरहेको प्रदर्शनप्रति ध्यान दिन गृह मन्त्रालयको ध्यानाकर्षण गराए ।

उपकुलपति भण्डारीलाई बर्खास्त गर्न माग

सत्तारुढ दलकै सांसद मेटमणि चौधरीले दाङको घोराहीस्थित राप्ती स्वास्थ्य प्रतिष्ठानकी उपकुलपति संगीता भण्डारीलाई बर्खास्त गरेर अर्को उपकुलपति नियुक्त गर्न माग गरे ।

सामाजिक सन्जालको दुरुपयोग बढ्यो : अधिकारी

सत्तारुढ दल नेकपाका अर्का सांसद खगराज अधिकारीले सामाजिक सन्जालको दुरुपयोग बढ्दै गएको भन्दै दुरुपयोग रोक्न नियमन, नियन्त्रण र कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराए ।