
चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानसहित तीनै जनालाई बयानको लागि चितवन जिल्ला अदालत लगिएको छ । उनीहरुको अहिले बयान चलिरहेको छ ।
रुकु भनिने अस्मिता कार्कीको मात्र बयान सकिएकाले आज लामिछाने र युवराज कँडेलको बयान लिने काम भइरहेको हो । आज दुई जनाको बयान सकिएपछि मात्रै थुनछेक बहस हुनेछ ।
यता, जिल्ला प्रशासन कार्यालय चितवनले प्रदर्शन गर्न रोक लगाएको छ । पत्रकार शलिकराम पुडासैनीको मृत्यु भएको घटनामा अनुसन्धानको क्रममा प्रहरी नियन्त्रणमा रहेका लामिछानकोे रिहाइको माग गर्दै दिनहुँ प्रदर्शन भइरहेको छ ।
शान्तिपूर्ण रुपमा भइरहेको आन्दोलन हिजो बेलुका एकाएक उग्र भएपछि जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै जिल्ला प्रहरी कार्यालय, चितवन जिल्ला अदालत र सरकारी वकिलको कार्यालय आसपास कुनैपनि प्रदर्शन गर्न नपाउने गरि रोक लगाएको छ ।
चार किल्ला तोकेर क्षेत्रमा ५ जनाभन्दा बढी भेला हुन नपाइने जनाएको छ ।
आज बिहान ६ बजेबाट अर्को सूचना जारी नहँुदासम्म प्रदर्शन गर्न नपाइने चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए । यता, रवि समर्थकहरु भने निशेधाज्ञा बाहिर रहेर प्रदर्शन गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्