
प्रदीप पौडेल
पोखरा, भदौ ८ । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा संघीय संसद्का सदस्य सूर्यबहादुर केसीले सुप्रेम शारदा पत्रकार पुरस्कार घोषणा गरेका छन् ।
प्रेस युनियन कास्कीले पोखरामा आइतबार आयोजना गरेको कार्यक्रममा पोखराका वरिष्ठ उद्योगी एवं समाजसेवी समेत रहेका केसीले पुरस्कारका लागि ६ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।
प्रेस युनियन कास्कीले संचालन गर्ने गरी स्थापित सो पुरस्कार गण्डकी प्रदेशमा कार्यरत एकजना पत्रकारलाई हरेक वर्ष नगद ५१ हजार रुपैयाँसहित सम्मान गरिनेछ । सो पुरस्कार युनियनकै इतिहासमा सबैभन्दा ठूलो धनराशीको पुरस्कार रहेको युनियन जिल्ला अध्यक्ष नवीन सिग्देलले बताए ।
आफ्नी बहिनी शारदा केसी रोकाहाको स्मृतिमा समाजसेवी केसी र उनकी धर्मपत्नी प्रेमकुमारी केसी परिवारले सो पुरस्कार स्थापना गरेका हुन् । पुरस्कारको संस्थापक तथा संरक्षक स्वयं सूर्यबहादुर केसी रहनेछन् ।
केसी परिवारले यसअघि पनि पत्रकार महासंघ कास्कीले संचालन गर्ने गरी कीर्ति स्मृति पत्रकारिता सम्मानका लागि ११ लाख रुपैयाँ प्रदान गरिसकेका छन् ।
पत्रकारमैत्री समेत भनी चिनिने समाजसेवी केसी आफूलाई दिनमै आनन्द लाग्ने कुरा व्यक्त गरे । उनले पुरस्कार वितरणमा जात, धर्म, लिङ्ग, आस्थाका आधारमा विभेद नगर्न सुझावसमेत दिए । उनले पत्रकारले चलाउने कलमकै कारण सरकारका राम्रा–नराम्रा कार्य औंल्याउने र सरकारलाई सजक गराउन भूमिका खेल्ने भएकोले आफ्नो ध्यान पत्रकारप्रति रहेको बताए ।
सांसद केसीले पत्रकारिताको माध्यमबाट लोकतान्त्रिक पद्दति र नागरिक स्वतन्त्रता एवं सनातनकालदेखि चल्दै आएको धर्म संस्कृतिको संरक्षणमा समेत टेवा पु¥याउने बताए ।
यस्तै, उनले देशैभरिका पत्रकारको उपचार सहयोगार्थ छिट्टै अक्षयकोष स्थापना गर्ने घोषणा गरे । उनले पत्रकार ओम हमाललाई राजनीतिक आस्थाका आधारमा प्रहरी हिरासतमा नराख्न आग्रहसमेत गरे । युनियनका सल्लाहकार राजबहादुर गुरुङको उपचारमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत उनले जनाए ।
कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले पुरस्कारले पत्रकार जगतलाई थप जिम्मेवार बनाउन भूमिका खेल्ने बताए । उनले पत्रकारमाथि राज्यले गरेको धरपकडलाई तत्काल बन्द गर्न समेत आग्रह गरे । पौडेलले लोकतन्त्रमा आस्थाका आधारमा कोही व्यक्तिलाई सरकारले नियन्त्रणमा लिन नपाउने बताए ।
प्रेस युनियनका सल्लाकार रवीन्द्र बास्तोलाले प्रेसमाथि भएको हस्तक्षेपको विरुद्धमा एकजुट हुनुपर्ने बेला आएको बताए ।
पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पुरस्कारका नाम धेरै भएको भनिए पनि संस्थागत पुरस्कार भने अझै कमी नै रहेको बताए । उनले पुरस्कार वितरणमा सबै खेमाका पत्रकारलाई अपनत्व हुने गरी वितरण गर्न सुझाव दिए ।
प्रेस युनियनका कास्की अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा महासंघकी उपाध्यक्ष विमला भण्डारी, युनियनका सचिव प्रदीप पौडेलले लगायतले आफ्नो धारणा राखेका थिए । सचिव पौडेलले युनियनका सल्लाहकार राजबहादुर गुरुङको उपचारार्थ आवश्यक थप रकम संकलनमा पहल गर्ने जनाए ।
प्रतिक्रिया दिनुहोस्