
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको छ ।
अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७५/०७६ मा एक हजार ३ सय बढी आन्तरिक पर्यटकको संख्या बढेको हो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका अुनसार आर्थिक वर्ष २०७५/०७६ मा ६ हजार ६९ जना पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए ।
जसमध्ये ५ हजार ७ सय ४० जना आन्तरिक पर्यटक रहेका छन् । यस्तै एक सय ७५ जना विदेशी र १ सय ५४ जना सार्क देशका पर्यटकले निकुञ्ज अवलोकन गरेका छन् ।
यसैगरी आर्थिक वर्ष २०७४/०७५ मा ४ हजार ७ सय ४० जना पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए ।
जसमध्ये ४ हजार २ सय ८१ आन्तरिक पर्यटक छन् भने २ सय ६६ विदेशी र १ सय ९३ जना सार्कदेशका पर्यटक रहेका छन् ।
आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएपनि विदेशी पर्यटकको संख्यामा भने कमी आएको हो ।
तुलनात्मक रुपमा विगतका वर्षमाभन्दा पर्यटकको संख्या बढेपनि सन्तोषजनक नरहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत लक्ष्मण प्रसाद पौडेलले बताए ।
उहाँले निकुञ्ज क्षेत्रमा जंगल सफारी, बस्न तथा खानका लागि उचित प्रबन्ध नभएकाले बाह्य पर्यटक भित्रिन नसकेको जानकारी दिए ।
गत वर्ष निकुञ्जले ८६ लाख २३ हजार २ सय ४६ रुपैयाँ राजस्व संकलन गरेको छ ।
३ सय ५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको निकुञ्ज बाह्रसिङेको सबैभन्दा ठूलो बथान र दुर्लभ पशुपंक्षी तथा वनस्पतिका लागि प्रसिद्ध रहेको छ ।
प्रतिक्रिया दिनुहोस्