
-प्रकाश नेपाल/ईमेज
इलाम । इलामका सामुदायिक तथा सरकारी विद्यालयमा पनि अंग्रेजी माध्यमबाट पठनपाठन हुन थालेको छ ।
विद्यार्थीको आकर्षण घटेकोप्रति ध्यान दिँदै कतिपय सामुदायिक विद्यालयले पनि पढाइको माध्यम अंग्रेजी बनाएका हुन् । यसले विद्यार्थीलाई अंग्रेजीमा अब्बल बनाए पनि नेपाली भाषा भने कमजोर हुने डर देखिएको छ ।
सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएपछि इलामका सामुदायिक विद्यालयले पनि अंग्रेजी माध्यमबाट पठनपाठन गर्न सुरु गरेका छन् ।
विद्यार्थीको संख्या घट्दै गएपछि बन्द हुने अवस्थामा पुगेपछि आकर्षण बढाउन अंग्रेजी माध्यमबाट पढाउन सुरु गरिएको हो ।
पछिल्लो समय विद्यार्थी तथा अभिभावकमा बढ्दै गएको अंग्रेजी भाषाप्रतिको मोहले नेपाली माध्यमबाट पढाउने काम घट्न थालेको छ ।
जिल्ला सदरमुकामको आदर्श मावि, इलाम नगरपालिका ५ बरबोटेको अमर मावि, देउमाई नगरपालिका मंगलबारेको भानुभक्त माविलगायतका विद्यालयले यसै वर्षदेखि अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेका छन् ।
अभिभावकको मागअनुसार नै अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको आदर्श मावि इलामका प्रधानाध्यापक कुमार पौडेलको भनाइ छ ।
अंग्रेजी राम्रो हुने भएकाले निजी विद्यालयमा पढाइको चाप बढ्न थालेपछि सामुदायिक विद्यालय पनि अंग्रेजी माध्यमबाट पढाउने होडबाजीमा लागेका छन् ।
बढ्दो अंग्रेजीमोहलाई सम्बोधन गर्न पढाइको माध्यम अंग्रेजी बनाइएको अमर मावि बरबोटेका प्रधानाध्यापक सोम निरौला बताउँछन् ।
सुरुसुरुमा अंग्रेजी माध्यमबाट पढाउन असहज भए पनि अहिले बानी पर्दै गएको र विद्यार्थी पनि अभ्यस्त हुँदै गएका छन् ।
अन्तर्राष्ट्रिय भाषा भएकाले पनि अंग्रेजी जान्नु अनिवार्यजस्तै भएकाले पनि यसलाई सम्बोधन गरिएको हो ।
नेपाली माध्यमबाट पढे पनि अंग्रेजीबाट पढाइ हुँदा बुझ्नलाई समस्या नभएको कतिपय विद्यार्थीको अनुभव छ
विश्व परिवेश घटनासँग परिचित हुन र जानकारी लिन अंग्रेजीप्रति मोह देखाउनु स्वाभाविक नै हो ।
तर अंग्रेजी सिक्ने बहानामा आफ्नो मातृभाषा र नेपाली भाषालाई भने ओझेलमा पार्नुहुन्न ।
प्रतिक्रिया दिनुहोस्