
काठमाडौं, भदौ ७ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले मुलुकमा राजनीतिक परिवर्तनको छोटो अवधिमै नेतृत्वप्रति असन्तुष्टि बढ्नु दुःखद् भएको टिप्पणी गरेका छन् ।
पूर्वकानुनमन्त्री प्रेमबहादुर सिंहको ‘संविधान निर्माणः घटना र अनुभूति’ नामक पुस्तकको शनिबार काठमाडौंमा विमोचन गर्दै उनले ‘राजनीतिक नेतृत्वबाट कहीँ–कतै त्रुटि त भएको छैन ?’ भन्दै प्रश्न गरे ।
डा. यादवले संविधानको मर्म र भावनाअनुसार दलहरु चलेका छन् कि छैनन् ? भनेर ध्यान जान आवश्यक रहेको भन्दै असन्तुष्टिलाई समयमै सम्बोधन गर्नेतर्फ ध्यान दिन सुझाव दिए ।
उनले गणतन्त्र र समानुपातिक समावेशीको सिद्धान्त आत्मसाथ भएको छ कि छैन ? भन्ने विषयमा नेतृत्वले ध्यान दिनुपर्नेमा जोड दिए ।
संविधानप्रतिका असन्तुष्टिलाई सम्बोधन गर्न ढिलाइ गर्नु नहुने उनको धारणा थियो ।
त्रुटि छैन : नेम्वाङ
कार्यक्रममा सत्तारुढ दल नेकपाका नेता एवं संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङले सोच–विचार गरेरै संविधान निर्माण गरिएकाले कुनै त्रुटि नरहेको जिकिर गरे ।
संविधानले अधिकार दिएपनि क्षमता, बुद्धि, विवेक दिन नसक्ने भन्दै उनले राजनीतिक नेतृत्वले क्षमता प्रदर्शन गर्नुपर्ने बताए ।
नेम्वाङले संविधान कार्यान्वयनकाक्रममा सम्पूर्ण शक्ति एक ठाउँमा आएकाले कार्यान्वयनकाक्रममा देखिएका असन्तुष्टि सम्बोधन गर्न प्रयासरत् रहेको बताए ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाले नेपालको इतिहासमा जनताका कारण नभइ राज्य सन्चालककै कारण व्यवस्था उल्टिने गरेको उदाहरण दिँदै वर्तमान व्यवस्थालाई फाल्ने कि राख्ने ? भन्ने विषय पनि राज्य सन्चालककै कार्यशैलीमा निर्भर रहने जिकिर गरे ।
पुस्तकमाथि वरिष्ठ अधिवक्ता थापा, संविधानविद् डा. भीमार्जुन आचार्य र वरिष्ठ अभिवक्ता एवं राष्ट्रियसभाका सदस्य राधेश्याम अधिकारीले टिप्पणी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्