६ श्रावण २०८२, मंगलबार | Wed Jul 23 2025


प्राधिकरणको ध्यान जलाशयमा, अघि बढ्दै १० आयोजना


0
Shares

रमेश लम्साल (रासस)

काठमाडौं, भदौ ७ । नेपाल विद्युत् प्राधिकरणसँग निर्माणमा जाने तयारीमा रहेका कुनैपनि आयोजना छैनन् भन्दै गुनासोमात्रै गरिन्छ ।

माथिल्लो त्रिशूली थ्री ए, कुलेखानी तेस्रोजस्ता रुग्ण आयोजना निर्माण सम्पन्न भएपछि प्राधिकरण आयोजनाविहीन बन्दै गएको भन्दै बेला–बेलामा आलोचना पनि गरिन्छ ।

तर, प्राधिकरणले सोही गुनासोको उचित जवाफकारुपमा विभिन्न १० आयोजनालाई अगाडि सारेको छ । ती आयोजनाको कुल क्षमता दुई हजार १२४ मेगावाट रहेको छ ।

प्राधिकरणले ती आयोजनालाई ‘गेम चेन्जर’ आयोजनाकारुपमासमेत लिएको छ ।

प्राधिकरणले ती आयोजना भने जनताको लगानीसमेत रहनेगरी कम्पनी ढाँचामा निर्माण गर्ने तयारी गरेको छ ।

सहायक कम्पनीमार्फत् आयोजना निर्माण गरिरहेको प्राधिकरणले आगामी दिनमा पनि सोही रणनीतिका आधारमा परियोजना निर्माण गर्ने भएको छ ।

रुग्ण आयोजना पालेर बसेको, नयाँ आयोजना नभएको, विद्युत् उत्पादनभन्दा पनि बिक्री–वितरणमामात्रै सीमित भएको भन्नेजस्ता आलोचना खेपिरहेको प्राधिकरणले नयाँ आयोजना निर्माणलाई विशेष प्राथमिकतामा राखेको हो ।

आगामी चैत मसान्तसम्म हालसम्मकै ठूलो आयोजनाकारुपमा रहेको माथिल्लो तामाकोसी निर्माण सम्पन्न हुनेछ ।

कालीगन्डकी निर्माण सम्पन्न भएपछि निर्माण सम्पन्न हुन लागेको ४५६ मेगावाट क्षमताको आयोजनाले आर्थिक समृद्धिको पक्षमासमेत ठूलो र महत्वपूर्ण स्थान राख्नेछ ।

सोही कम्पनीले नै दोलखाको रोल्वालिङ खोलामा २२ मेगावाट क्षमताको रोल्वालिङ खोला जलविद्युत् आयोजना निर्माण गर्न लागेको छ ।

सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीकाक्रममा रहेको छ । आयोजनाको बोलपत्र दस्तावेज तयार पार्नेक्रम अन्तिम चरणमा रहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकाअनुसार प्राधिकरणको सहायक कम्पनी तनहुँ जलविद्युत् कम्पनीले प्रवद्र्धन गर्न लागेको १४० मेगावाट क्षमताको तनहुँ सेती जलविद्युत् आयोजनाको काम सुरु भएको छ ।

अर्धजलाशयुक्त आयोजनाकारुपमा रहेको तनहुँ सेती आयोजनाले २२० केभी क्षमताको प्रसारणलाइन निर्माण तथा विद्युत्गृह एवं ‘हेडरेस टनेल’को काम अघि बढेको छ ।

यस्तै, सोही आयोजनाले १०४ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको पनि विस्तृत इन्जिनियरिङ डिजाइन गर्ने कामसमेत प्रारम्भ भएको छ ।

यस्तै, प्राधिकरणले सहायक कम्पनीमार्फत् ३० मेगावाट क्षमताको इखुवा खोला जलविद्युत् आयोजना पनि निर्माणमा जाने तयारी गरेको छ ।

प्राधिकरणले गेम चेन्जर परियोजनाकारुपमा १०६० मेगावाट क्षमताको अपर अरुण जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ ।

अपर अरुण हाइड्रोइलेक्ट्रिक कम्पनीले प्रवर्द्धन गर्ने सो आयोजनाको हाल विस्तृत इन्जिनियरिङ डिजाइन र बोलपत्र तयार पार्ने काम परामर्शदाताले गरिरहेको छ ।

त्यस्तै, आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन गर्ने कार्यसमेत समानान्तररुपमा अगाडि बढिरहेको प्राधिकरणले जनाएको छ ।

विश्व बैंकको अगुवाइमा अन्य दातृनिकायले सो आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।

सो आयोजनालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र प्राधिकरणलेसमेत प्राथमिकताप्राप्त आयोजनाकारुपमा अगाडि बढाउने सोच राखेको छ ।

यस्तै, जनताको जलविद्युत् कार्यक्रममा समावेश गरिएको ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री बी आयोजनाको निर्माण कार्य जारी छ । आयोजनामा नेपाली नागरिकबाटसमेत लगानी जुटाइसकिएको छ ।

म्याग्दीमा आयोजनास्थल रहेको ४० मेगावाट क्षमताको रघुगंगगा आयोजनाकोसमेत निर्माण सुरु भइसकेको छ ।

‘मेघा’ परियोजना अगाडि बढाउने लक्ष्यमा अगाडि बढेको प्राधिकरणले ६३५ मेगावाट क्षमताको दूधकोसी जलाशयुक्त आयोजनाकोसमेत हाल विस्तृत इन्जिनियरिङ डिजाइन तथा बोलपत्रको कागजात तयार पार्ने काम जारी छ । सो कार्य सन् २०१९ को डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

एसियाली विकास बैंकले आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएको छ । आयोजनालाई प्राथमिकतामा राखिएकाले प्राविधिक तयारी पूरा भएपछि निर्माणमा लैजाने तयारी गरिएको छ ।

प्राधिकरणका कर्मचारीको सेयरमा आयोजना 

प्राधिकरणका कर्मचारीको सेयरमा जलविद्युत् आयोजना निर्माण गर्नेक्रमसमेत सुरु भएको छ ।

प्राधिकरणमा हाल करिब १० हजार कर्मचारी कार्यरत् छन् । उनीहरुको सेयर लगानीमा आयोजना निर्माण गर्ने लक्ष्यका साथ दुईओटा आयोजना तयारी हालतमा रहेको छ ।

कुल ४२ मेगावाट क्षमताको मोदी जलविद्युत् आयोजना र १८.२ मेगावाट क्षमताको मोदी ए आयोजना सोही ढाँचामा अगाडि बढाउने तयारी गरिएको छ ।

ती आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन तथा बोलपत्र तयार पार्ने कार्य सम्पन्न भएको छ । ती आयोजनामा लगानीका लागि आवश्यक ढाँचा तथा प्रक्रियासमेत सुरु भइसकेको छ ।

प्राधिकरणमा कार्यरत् कर्मचारीको मागका आधारमा नै ती दुई आयोजना निर्माणमा लैजाने तयारी गरिएको हो ।

तामाकोसी पाँचौंको युद्धस्तरमा तयारी

यस्तै, प्राधिकरणले तामाकोसी पाँचौको युद्धस्तरमा तयारी गरेको छ ।

कुल १०० मेगावाट क्षमताको सो आयोजना माथिल्लो तामाकोसीको ‘क्यासकेड’ आयोजनाकारुपमा रहेको छ ।

माथिल्लो तामाकोसीको ‘टेलरेस’बाट निस्केको पानीलाई ८ किलोमिटरभन्दा लामो सुरुङमा हालेर विद्युत् उत्पादन गर्ने योजनामा प्राधिकरण लागेको छ ।

यद्यपि, माथिल्लो तामाकोसीको ऋण लगानीकर्ता कर्मचारी सञ्चय कोषले भने आयोजना माथिल्लो तामाकोसीलाई नै दिँदा उपयुक्त हुने सुझाव दिएको छ ।

आयोजनाको विस्तृत डिजाइन तथा बोलपत्र तयार पार्ने काम सम्पन्न भइसकेको छ ।

आयोजनामा चिनियाँ स्वामित्वको एसियन इन्फास्टकचर बैंकको अगुवाइमा ऋण लगानी गर्ने प्रतिबद्धता प्राप्त भइसकेको प्राधिकरणले जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले केही ठूला आयोजना निर्माण सुरु गर्ने तयारीमा आफूहरु पुगेको बताए ।

विगतमा समस्यामा परेका आयोजना सम्पन्न भइसकेका अवस्थामा नयाँ आयोजनाको खोजी भइरहेको उनको भनाइ छ ।

त्यसो त सरकारले जनताको लगानीमा तीन हजार ५०० मेगावाट क्षमताको आयोजनाकोसमेत प्रक्रिया सुरु गरिसकेको छ ।

त्यसमध्ये माथिल्लो त्रिशूली थ्री बी, रसुवागढी र सान्जेन जलविद्युत् आयोजनाको साधारण सेयर बिक्री भइसकेको छ ।