
काठमाडौं, भदौ ७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले चिनियाँ राष्ट्रपतिले अघि सारेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनालाई असफल बनाउन चालिएका कदमविरुद्ध लड्न नेपाल राजनीतिकरुपमा तयार रहेको बताएका छन् ।
चीनमा आयोजना गरिएको ‘गुआङडोङ २१औं शताब्दी म्यारीटाइम सिल्करोड अन्तर्राष्ट्रिय एक्स्पो’लाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले दक्षिण एसियामा बीआरआईकाविरुद्ध लक्षित गर्दै चलेका अभियानको कुनै अर्थ नभएको टिप्पणी गरे ।
उनले त्यस्ता अफवाहविरुद्ध एक भएर लड्न नेपाल तयार रहेको बताए ।
नेता खनाल चिनियाँ सरकारको निमन्त्रणमा चारदिने चीन भ्रमणमा छन् ।
नेता खनालले सन् २०१७ मा बीआरआईमा नेपाल र चीनबीच भएको समझदारीपछि नेपाल औपचारिकरुपमा बीआरआईमा सहभागी हुने मुलुक बनेको बताए ।
उनले समझदारीपूर्व विभिन्न चरणमा द्विपक्षीयरुपमा विभिन्न समझदारी भएको स्मरण गरे । ती समझदारीपत्र बीआरआईको आधारपत्र तयार गर्न सहायक भएको उनको भनाइ थियो ।
नेपाल र चीनबीच एक हजार ६०० वर्ष पुरानो सम्बन्ध रहेको उल्लेख गर्दै नेता खनालले अब सांस्कृतिक र व्यापारिक आधारमा नेपाल र चीनबीचको सम्बन्ध विकास गरिनुपर्नेमा जोड दिए ।
बीआरआईको प्रभावकारी कार्यान्वयनका लागि नेपाल–चीन आर्थिक करिडोरको विकास गर्न उनले प्रस्ताव गरे ।
त्यसैगरी, ‘ट्रान्स हिमालय इकोनोमी करिडोर’को स्थापना र नेपाल चीनबीचको रेल सन्जालको सम्बन्धले ‘सिल्क रोड’को ल्हासा–काठमाडौं–भारतखन्डलाई पुनःजीवित पार्ने र जसको लाभ नेपालले लिनसक्ने उनको भनाइ थियो ।
सम्बोधनकाक्रममा नेता खनालले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धकाबारेमा स्मरण गरेका थिए ।
‘काठमाडौंको सांस्कृतिक उत्कृष्टता चीनले आयात गरेको थियो । जुन आज पनि बेइजिङको सेतो प्यागोडाशैलीमा देख्न सकिन्छ । जुन अरनिकोद्वारा निर्माण गरिएको थियो’–उनले भने ।
उनले दुई देशबीच गहिरो सांस्कृतिक तथा आर्थिक सम्बन्ध रहेको र इतिहासको विभिन्न कालखन्डमा दुई देशबीच वैवाहिक सम्बन्धसमेत स्थापित भएको उल्लेख गरे ।
पूर्वप्रधानमन्त्री खनालले अर्थतन्त्र, वातावरण संरक्षण, प्रविधि हस्तान्तरण, संस्कृति आदान–प्रदानलगायत क्षेत्रमा दुवै देशले सहकार्य गर्नसक्ने प्रशस्त सम्भावना रहेको बताए ।
‘आज नेपालले आर्थिक समृद्धि चाहेको छ । जुन दुई देशबीचको आर्थिक तथा सामाजिक सम्बन्धका आधारमा विकसित हुनसक्छ’–उनले भने–‘कर नीति, कानुन, नीति–नियम र मुद्राको आदान–प्रदानको सीधा प्रणालीलाई सहज बनाउने र अन्य गतिविधिमा दुई देशबीच एक समझदारी हुनु आवश्यक छ ।’
चीनमा आयोजित अर्को एक कार्यक्रममा उनले पर्यावरणको संरक्षण, हिमाली क्षेत्रमा बढ्दो मौसम परिवर्तन र वातावरणीय मुद्दालाई दुवै मुलुकले एकसाथ सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए ।
उनले नेपाल–चीनबीच कृषि तथा चिया, पर्यटन र अन्य विविध क्षेत्रमा द्विपक्षीय सहयोग आदान–प्रदान हुनसक्ने औंल्याए ।
नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० सफल बनाउन चीन सरकारको सहयोगको अपेक्षा गर्दै उनले नेपालले चिनियाँ पर्यटकलाई दिनसक्ने सुविधाकाबारेमा दुई देशकाबीच सहकार्य गर्न सकिने बताए ।
पूर्वप्रधानमन्त्री खनाल आजै स्वदेश फर्कने उनका स्वकीयसचिव कृष्ण भट्टराईले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्