७ श्रावण २०८२, बुधबार | Thu Jul 24 2025


१० बर्ष वित्यो कारागार भवन बनेन, ५० जनाको क्षमता भएको कारागारमा २ सय बढी कैदी


0
Shares

सुर्खेत । दश वर्ष बितिसक्दा पनि नयाँ भवन निर्माण अनिश्चित भएपछि सुर्खेत कारागारमा क्षमताभन्दा चार गुणा कैदी राखिएको छ ।

५० जना कैदी राख्न सकिने क्षमताको कारागारमा २ सय ७ जना कैदी राखिएका कारण कष्टपूर्ण तरिकाले बस्नुपर्ने भएको हो ।

सुर्खेत कारागारको निर्माणाधीन भवन अलपत्र बनेपछि  २०३२ सालमा निर्मित पुरानो भवनमा कैदीहरु ठेलमठेल गरेर बस्न बाध्य छन् ।

नयाँ भवन निर्माणका लागि विसं २०६५ सालदेखि काम सुरु गरिए पनि  निर्माणाधीन अवस्थामै निर्माण व्यवसायी भागेपछि अनिश्चित बनेको हो ।

नयाँ भवन नबनेका कारण कैदीबन्दी पुरानै भवनमा कोचाकोच अवस्थामा बसिरहेका छन् ।

वर्षा सुरु भएकाले बाहिर बस्न नसकिने र कोठाभित्र बस्दा खुट्टा समेत राख्ने ठाउँ खाली नहुने कारागार प्रमुख लक्ष्मी खरेलको भनाइ छ ।

५० जनाको क्षमता भएको कारागारमा चौगुणाभन्दा बढी कैदीबन्दी राख्नुपर्दा व्यवस्थापनमा सकस परेको कारागार प्रशासनको भनाइ छ ।

नयाँ भवन निर्माणका लागि पटकपटक आग्रह गर्दासमेत सम्बन्धित निकायले कुनै चासो नदिएपछि पुरानै भवनमा त्रिपाल टाँगेर कैदीबन्दी बसिरहेका कारागार प्रमुख खरेल बताउँछन् ।

१ करोड ३६ लाख ५३ हजार रुपैयाँको लागतमा नयाँ भवन निर्माणको जिम्मा जिएम कन्ट्रक्सन गंगबु काठमाडौंका पुरुषोत्तम मानन्धरले लिएका थिए ।

६ वर्षसम्म पुरुष र महिला सेलको प्लाष्टरसम्मको काम गरेर सम्पर्कविहीन भएका उनलाई पटकपटक पत्राचार गरे पनि सम्पर्कमा नआएपछि नयाँ ठेक्का आह्वान गरिएको छ ।

सुविधासम्पन्न भनिएको नयाँ भवन निर्माण गर्नुपर्ने समय टरिसक्दा पुरानो कारागार दयनीय भइसकेको छ ।

दश वर्षसम्म आयोजना नै अलपत्र पर्दा जिर्ण भवनमा कष्टकर दैनिक विताउनु परेको गुनासो कैन्दबन्दीको छ ।

उनीहरुले नयाँ भवन निर्माणमा सरकारलाई गम्भीर बन्न आग्रह समेत गरेका छन् ।

न्यूनतम मानवीय संवेदनालाई ख्याल गरेर कैदीबन्दीको दैनिकी सहज बनाउनतर्फ पहल गर्नुपर्ने देखिन्छ । इमेज समाचारका लागि मानबहादुुर वली, सुर्खेत ।