
काठमाडौं, भदौ ६ । नेपाल र भारतको खाद्य प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई दुवै देशले मान्यता दिने सहमतिको नेपाल चेम्बर अफ कमर्सले स्वागत गरेको छ ।
हालै काठमाडौंमा सम्पन्न नेपाल–भारत संयुक्त आयोगको बैठकमा उक्त सहमति भएको हो ।
नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र भारतको खाद्यसुरक्षा तथा मानक प्रविधिकरणबीच एक–अर्काको देशको प्रयोगशालामा जाँच गरेको खाद्यान्न, फलफूल र तरकारीलाई अर्को देशमा मान्यता पाउने सहमति हुनुलाई चेम्बरले विज्ञप्ति जारी गरी समय सान्दर्भिक, उचित एवं स्वागतयोग्य भनेको हो ।
नेपालबाट भारततर्फ निकासी भइरहेको वस्तुहरुमध्ये करिब २४ वस्तु, खाद्यपदार्थ तथा फलफूल तथा तरकारीले भारतीय बजारमा सहज, सरल र सुविधायुक्त प्रवेश पाउने कदमको चेम्बरले सकारात्मकरुपमा लिएको हो ।
यसबाट गैरभन्सार अवरोधलगायत प्रक्रियागत झन्झट कम हुन गइ व्यापार घाटा कम गर्न पनि योगदान पुर्याउने आशा एवं विश्वास चेम्बरले लिएको छ ।
यस निर्णयअनुसार नेपालबाट भारतमा निकासीका लागि नेपाली गुणस्तर परीक्षणलाई मान्य गरिएका वस्तुहरुमा जुस, जाम, जेली, अचार, क्यान्डी, इन्स्त्यान्ड नुडल्स, बिस्कुट, बालबच्चालाई खुवाउने दूध परेका छन् ।
यसैगरी, स्कीम्ड होल मिल्क पाउडर, कन्डन्स्ड मिल्क, आइसक्रिम, गुलियो दही, मासु तथा मासुजन्य पदार्थ, अदुवा, अलैंची, बेसार, चिया, कफी, मह, ताजा फलफूल र तरकारीमा पनि परीक्षण मान्य हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस्