
काठमाडौं, भदौ ६ । पाकिस्तान सरकारले भारत प्रशासित जम्मु–कश्मिरको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै नेपालको भूमिका खोजेको छ ।
पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले बिहीबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई टेलिफोनमार्फत् कश्मिरको पछिल्लो अवस्थाको जानकारी गराउँदै नेपालको भूमिका खोजेका हुन् ।
भारतीय विदेशमन्त्री एस जयशंकर नेपालको दुईदिने भ्रमण सकेर नयाँदिल्ली फर्किएलगत्तै पाकिस्तानी विदेशमन्त्रीले टेलिफोनमार्फत् कश्मिर मामिलाबारे जानकारी गराउँदै नेपालसित सहयोग मागेका हुन् ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) अध्यक्ष राष्ट्रकारुपमा क्षेत्रीय शान्ति र स्थायित्वका लागि कश्मिरको अवस्थालाई सहज बनाउन भारतलाई दबाब दिन पाकिस्तानले नेपाललाई आग्रह गरेको हो ।
‘क्षेत्रीय शान्ति र स्थायित्वका लागि सार्क अध्यक्षकारुपमा आफ्नो भूमिका निर्वाह गर्न र भारत प्रशासित जम्मु–कश्मिरका जनताको पीडा कम गर्न भारतमाथि दबाब बढाउन विदेशमन्त्रीले नेपाललाई आग्रह गर्नुभयो’–पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘भारतको गैरकानुनी तथा एकपक्षीय कारबाहीले विवादास्पद जम्मु तथा कश्मिरको अवस्थामा परिवर्तन गरेको छ । जसले अन्तर्राष्ट्रिय कानुन तथा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावलाई तोडेको छ’–पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
भारतले भने यसलाई विशुद्ध आफ्नो आन्तरिक मामिला भएको बताउँदै आएको छ ।
यसबारे नेपालले अहिलेसम्म लिखित वक्तव्यमार्फत् कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन ।
प्रतिक्रिया दिनुहोस्