३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


ब्राजिलको अमेजन वन क्षेत्रमा ‘अहिलेसम्मकै धेरै डढेलो’, साओ पाउलो दिउँसै अन्धकार


0
Shares

काठमाडौं, भदौ ४ । ब्राजिलको धेरै पानी पर्ने अमेजन वन क्षेत्रमा यस वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै डढेलो लागेको तथ्यांक सार्वजनिक भएको छ ।

ब्राजिलको अन्तरिक्ष निकाय नेसनल इन्स्टिट्युट फर स्पेस रिसर्च (आइएनपीई)काअनुसार गत वर्षभन्दा यस वर्ष डढेलोको संख्या ८३ प्रतिशतले बढेको देखिएको छ ।

वनविनाशको तथ्यांकबारे विवाद उत्पन्न भएपछि राष्ट्रपति जाइर बोल्सोनारूले आइएनपीईका प्रमुखलाई पदमुक्त गरेको एक हप्तापछि डढेलोसम्बन्धी तत्थ्यांक सार्वजनिक भएको हो ।

वनमा लागेको डढेलोबाट निस्किएको धुवाँका कारण साओ पाउलो सहरमा दिउँसै अन्धकार भएको थियो ।

एउटा शक्तिशाली हावाको वेगले रोन्डोनिया र अमेजोनास राज्यमा फैलिएको डढेलोको धुवाँ ल्याएपछि २७ सय किलोमिटर पर रहेको साओ पाउलो सहर करिब एक घन्टा अन्धकार भएको थियो ।

गएको बिहीबारयतामात्रै ब्राजिलमा ९ हजार ५०० ओटा डढेलो देखिएकामा ती अधिकांश अमेजन क्षेत्रमा थिए ।

आइएनपीईले जनवरीदेखि अगस्ट महिनाबीच ७२ हजारओटा डढेलोका घटना पहिचान गरेको उल्लेख गरेको छ ।

राष्ट्रपति बोल्सोनारू वातावरणसम्बन्धी नीतिका कारण आलोचित छन् ।

संरक्षणकर्मीहरूले काठ व्यापारी र कृषकहरूलाई जमिन खाली पार्न उनले प्रोत्साहन गरेपछि यस्तो अवस्था सिर्जना भएको आरोप लगाएका छन् ।

बढ्दो डढेकोका कारण अमेजन आसपासका क्षेत्रमा संकटकाल घोषणा गरिएको छ । (एजेन्सी)