
काठमाडौं, भदौ ३ । राष्ट्रिय योजना आयोगका एक कर्मचारी मंगलबार कार्यालयभित्रै मृत भेटिएका छन् ।
झन्डै ८ वर्षदेखि कार्यालयको प्रशासन महाशाखाअन्तर्गत् प्रशासन तथा विपद् व्यवस्थापन शाखामा कार्यरत् नायब सुब्बा बच्चुराम केसी अनुगमन तथा मूल्यांकन शाखाको सभाहलमा मंगलबार मृत भेटिएका हुन् ।
प्रहरीले घटनाको मुचुल्का उठाएर शव परीक्षणका लागि महाराजगन्जस्थित शिक्षण अस्पतालमा लगेको छ ।
केसी कीर्तिपुर नगरपालिकास्थित टौदह निवासी हुन् ।
घटनास्थलमा बालीमा प्रयोग गर्ने एक प्रकारको विषादीको बट्टा फेलापरेकाले त्यही खाएर आत्महत्या गरेको अनुमान गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटले जानकारी दिए ।
प्रहरीकाअनुसार राति नै उनी कार्यालयमा प्रवेश गरेको पाइएको र उनको गोजीमा ‘सुसाइड नोट’समेत फेलापरेकाले घटनाको अनुसन्धान भइरहेको छ ।
आयोगका प्रवक्ता डा. किरण रुपाखेतीले बिहान कार्यालय समयमा कर्मचारीले उनलाई हलभित्र सुतिरहेको देखेपछि तत्कालै प्रहरीलाई खबर गरेको जानकारी दिँदै मिजासिलो मान्छेको सोच्नै नसकिने गरी घटना भएकोमा आश्चर्य लागेको बताए । रासस
प्रतिक्रिया दिनुहोस्