
काठमाडौं, भदौ ३ । मनसुनको न्यूनचापीय रेखा औसत स्थानमा रहेकाले सो प्रभावले देशका अधिकांश स्थानमा मनसुनी वर्षा भइरहेको छ ।
हाल देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले मंगलबार विशेष बुलेटिन जारी गर्दै उक्त प्रणालीको प्रभावका कारण तीन दिन देशका अधिकांश स्थानमा मेघगर्जनसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले त्यसबाट बच्न आवश्यक सतर्कता अपाउन अनुरोध गरेको हो ।
जुन १० देखि सेप्टेबर २६ सम्मको समयलाई मनसुनको अवधि मानिन्छ । यस समयमा मनसुनी ‘ट्रफ’ कहिले तल कहिले माथि भइरहने मौसमविद् मञ्जु बासीले बताइन् ।
उक्त ट्रफ नजिक परेको बेला वर्षा निरन्तर भइरहन्छ ।
तर, यस वर्ष नेपालमा सो मनसुनी ट्रफ जुलाई १३ मा एकपटकमात्र नेपालनजिक आइपुगेको थियो ।
त्यसको प्रभावले काठमाडौं उपत्यकामा यस वर्ष मनसुन सुरु भएपछि सबैभन्दा धेरै वर्षा जुलाई १३ अर्थात् असार २८ मा १०४ मिलिलिटर भएको थियो । यो मनसुन सुरु भएपछिको सबैभन्दा बढी वर्षा हो ।
५० देखि १०० मिलिमिटरसम्मको वर्षालाई भारी र १०० देखिमाथिलाई अतिभारी वर्षा भनेर मापन गर्ने गरेको मौसमविद्को भनाइ छ ।
महाशाखाले आगामी २४ घन्टाका लागि चेतावनी जारी गर्दै देशको पूर्वी तथा मध्यपहाडी भू–भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना औंल्याएको छ ।
चुरेबाट बहने नदीमा पानीको बहावमा आकस्मिक वृद्धि हुनसक्ने भएकाले नदी आसपासको बस्तीलाई सतर्क रहन तथा सडक यातायातमा पहिरो, भूक्षयका कारण अवरोध आउनसक्ने भएकाले सो क्षेत्रमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउनसमेत अनुरोध गरिएको छ ।
मंगलबार राति देशभर सामान्यतया बदली रही मध्य र पश्चिमी क्षेत्रका केही स्थान तथा पूर्वका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।
बुधबार देशका धेरै स्थानमा सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रही देशको पहाडी भू–भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही देशको पूर्वी तथा मध्य पहाडी भू–भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्