६ श्रावण २०८२, मंगलबार | Wed Jul 23 2025


चर्को आवाज निकाल्ने मोटरसाइकल र राति हुलहुज्जत गर्नेलाई तत्काल पक्राउ गर्न निर्देशन


0
Shares

प्रदिप पौडेल/ईमेज

पोखरा । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शान्तिसुरक्षा स्थापनामा नेपाल प्रहरी सक्षम रहेको बताएका छन् । उनले नचाहिने गतिविधि गर्नेलाई तत्काल प्रहरी कठघरामा उभ्याइने चेतावनी दिए ।

पोखरामा मंगलबार संघीय प्रहरी इकाइ कार्यालय पोखराको नवनिर्मित कार्यालय भवन उद्घाटन तथा व्यारेक भवन शिलान्यास गर्दै प्रहरी महानिरीक्षक खनालले अपराध अनुसन्धान नियन्त्रणमा विश्वमा नेपाल प्रहरीको स्थान उच्च रहेको दाबी गरे । उनले शान्तिसुरक्षा स्थापनामा प्रविधिमैत्रीसँगै प्रहरीको उपस्थिति समेत आवश्यक पर्नेमा जोड दिए ।

विगतमा मुस्कानसहितको सेवा भनिए पनि त्यो प्रभावकारी नभएको टिप्पणी गर्दै आफ्नो पालामा ल्याइएको समुदाय–प्रहरी साझेदारी कार्यक्रम निकै प्रभावकारी बन्दै गएको दाबी गरे । सामुदायिक प्रहरीको नाममा प्रहरीलाई झाडु लगाउने काममा मात्र सीमित राख्न नहुने उनको जोड थियो ।

यस्तै, पोखरा पर्यटकीय केन्द्र रहेको भन्दै उनले लेकसाइड चौबीसै घण्टा खुलाउन आवश्यक सुरक्षा व्यवस्था दिन प्रहरी सक्षम रहेको बताए ।

उनले भने,राति अबेरसम्म व्यवसाय खोलिँदा सुरक्षा दिन प्रहरी सक्षम छ, तर व्यवसायहरुले कुन व्यवसाय कसरी संचालन गर्ने भन्ने विषयमा ख्याल गर्नुपर्छ ।

उनले चर्को आवाज दिने बुलेट मोटरसाइकल नियन्त्रण लिन तथा रातिको समयमा हुलहुज्जत गर्नेलाई तत्काल पक्राउ गर्न गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद शर्मा घिमिरेलाई निर्देशन समेत दिए ।

उनले व्यवसायलाई पनि पैसामात्र कमाउने मात्र नहेरी मर्यादामा रहेर व्यवसाय गर्नुपर्ने सुझाव दिए । २ करोड ७८ लाख ७० हजार रुपैयाँ लागतमा साढे २ तले भवन (१६ कोठा) भवन निर्माण गरिएको हो ।

यस्तै, संघीय प्रहरी कार्यालयको व्यारेक भवन, मेस, स्नान गृह र शौचालय पनि खनालले शिलान्यास गरे ।

सो भवन ३ करोड २५ लाख लागतमा बन्ने अञ्चल प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पुजा सिंहले जनाइन् ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मनोहरप्रसाद खनाल, प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद शर्मा घिमिरे, प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद अधिकारी, प्रहरी निरीक्षक चतुर्भुज बोहरा, पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष दामु अधिकारी लगायतले बोलेका थिए ।