जनकपुरमा ओलीलाई भष्मासुर, कालीदासको संज्ञा « Image Khabar


जनकपुरमा ओलीलाई भष्मासुर, कालीदासको संज्ञा


Imagekhabar
१९ पुष २०७७, आईतवार १९:०२

जनकपुर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भष्मासुरको संज्ञा दिनुभएको छ ।

जसपाको भातृ संगठन समाजवादी युवा संघको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई आइतबार जनकपुरमा सम्बोधन गर्दै अध्यक्ष यादवले आफूले पाएको अधिकार आफूद्वारा नै समाप्त पार्ने भष्मासुरको पथमा ओली हिँडेको जिकिर गर्नुभयो । प्रधानमन्त्री ओलीले आफ्नो सत्ता टिकाउन आफ्नै घरमा आगो लगाएको उहाँको आरोप छ ।

प्रधानमन्त्री ओलीले राजा महेन्द्र जस्तै संविधानमाथि कू गरेर मुलुकमा निरकुंश शासन लाद्न खोजेको भन्दै अध्यक्ष यादवले तानाशाही प्रवृतिको अन्त्य न्यायपालिकाबाट नभइ राजनीतिक संघर्षबाट हुने बताउनुभयो ।

कार्यक्रममा जसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीले प्रधानमन्त्री ओलीलाई कालिदासको संज्ञा दिँदै आफू बसेको रुखका हाँगा काटेको बताउनुभयो । कार्यक्रममा जसपाका कार्यकारिणी सदस्य एवं प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री ओलीले संसद विघटन मात्रै होइन मन्त्रिपरिषद विस्तार गरेर एकपछि अर्को असंवैधानिक काम गर्दै आएको आरोप लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्