Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


फाटेको गोल्डस्टार जुत्ता लगाएर क्रिकेट खेलें : ज्ञानेन्द्र मल्ल


0
Shares

दमौली, भदौ २ । ‘जब मैले बच्चादेखि नै क्रिकेट खेल्न सुरु गरें, मलाई आज यो अवस्थामा आइपुग्छु भन्ने लागेकै थिएन’–तनहुँको व्यास नगरपालिकाका युवामाझ आफ्नो अनुभव सुनाउँदै नेपाली क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले भने–‘सानैदेखि क्रिकेट एकदमै मन पर्थ्यो । क्रिकेट खेल्दाखेल्दै आजको अवस्थामा आइपुगेको हुँ ।’

उपकप्तान मल्लले सुरुआती चरणमा फाटेको गोल्डस्टार जुत्ता लगाएर क्रिकेट खेलेको अनुभव सुनाए ।

‘आज आफू जुन स्थानमा छु, त्यो सबै सफलता क्रिकेटबाट प्राप्त गरेको हुँ’–उनले भने–‘जति दिन क्रिकेट खेल्छु, पूर्ण आत्मविश्वासका साथ खेल्छु ।’

व्यास नगरपालिकाले युवा परिषद्का सदस्यका लागि आइतबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उपकप्तान मल्लले परिश्रम र लगावले नै मानिसलाई सफल बनाउने बताए ।

‘जो व्यक्तिले परिश्रम गर्छ, त्यो व्यक्ति सधैं सफल हुनेमा कुनै द्विविधा छैन’–उनले भने ।

नेपाली क्रिकेट टोलीको सवल पक्षकाबारेमा सहभागीले सोधेको प्रश्नको उत्तर दिँदै मल्लले एकता नै नेपाली क्रिकेट टोलीको सवल पक्ष रहेको बताए ।

‘राष्ट्रिय टोलीको कप्तान हुन मन लाग्दैन ?’ भन्ने प्रश्नको जिज्ञासा मेटाउँदै उपकप्तान मल्लले भने–‘त्यस्तो भावना कहिल्यै पनि आएन । सधैं एउटालेमात्रै पद लिएर बस्ने होइन । बरु अरु साथीलाई त्यो स्थानसम्म पुर्‍याउन पाए मलाइ खुसी लाग्छ ।’

कार्यक्रममा राष्ट्रिय महिला धावक मीरा राईलेसमेत आफ्नो अनुभव सुनाएकी थिइन् ।

गरिब परिवारमा जन्मिएर पूर्वलडाकु हुँदै दौडमार्फत् नेपालको नाम विश्वमाझ चिनाउन पाउँदा आफूलाई गर्व लाग्ने गरेको उनको भनाइ थियो ।

परिषद्का ४० सदस्य सहभागी उक्त अभिमुखीकरण कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त, कान्तिपुर टेलिभिजनका कार्यक्रम प्रस्तोता सविना कार्की, मध्यनेपाल पर्यटन विकास समितिका अध्यक्ष हरिसिंह गुरुङ, युवा अभियन्ता सचिन तिमिल्सेना, व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठलगायतले आ–आफ्नो अनुभव सुनाएका थिए ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले अभिमुखीकरणपश्चात् नगरपालिकाका लागि जागरुक युवा तयार भएको बताए । रासस