
भक्तपुर, भदौ २ । चाँगुनारायण नगरपालिका र जिल्ला वन कार्यालयले नगरकोटका घर–टहरा भत्काएको विरोधमा सोमबार स्थानीय साना तथा मझौला व्यवसायी समूहले नगरकोट बन्द गराएका छन् ।
व्यवसायीहरूले कुसुम सामुदायिक वन अतिक्रमण गरी सडकको दायाँबायाँ अवैधरुपमा घर–टहरा निर्माण गरी होटल तथा रेस्टुराँ व्यवसाय सन्चालन गर्दै आएकाले नगरपालिकाले आइतबार डोजर लगाएर १०० भन्दा बढी घर–टहरा भत्काएको थियो ।
साना व्यवसायीलाई कुनै विकल्प नदिइ घर–टहरा भत्काएको भन्दै उनीहरूले सोमबारदेखि अनिश्चितकालीन नगरकोट बन्दको आह्वान गरेका संघर्ष समितिका संयोजक दिलीप गुरुङले बताए ।
उनले भने–‘हामीलाई कुनै विकल्प नदिइ एक्कासि हाम्रो घर–टहरा र होटल तथा व्यवसायमाथि डोजर चलाइयो । यसको विरोधमा हामीले आजदेखि नगरकोट अनिश्चितकालीन बन्द गराएका हौं ।’
साना व्यवसायीले सडकमा टायर बालेर सडक बन्द गराएकाले नगरकोट आउने र जाने सार्वजनिक एवं निजी यातायातका साधन बन्द भएका छन् ।
स्थानीयवासी धनबहादुर लामाले नगरपालिकाले जबर्जस्ती गरेको विरोधमा व्यवसायी विरोधमा उत्रिएको बताउँदै यसले पर्यटन वर्ष २०२० लाई प्रत्यक्ष प्रभाव पार्ने बताए ।
उनले नगरकोट आउने पर्यटकलाई भने बन्द आयोजकले नरोक्ने जनाएपनि केही पर्यटक बन्द भएको सुनेर बीचबाटै फर्किएको जानकारी दिए ।
यता, नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले भने पटक–पटक सूचना जारी गरी ‘माइकिङ’ गरेर नै अवैध संरचना हटाइएको जानकारी दिँदै बाँकी २० घर–टहरा आज भत्काइने बताए ।
नगरपालिका र वन कार्यालयले भट्टेडाँडा, नगरकोट टावरसम्मका अवैध घर–टहरा भत्काएको थियो ।
आइतबार घर–टहरा भत्काउनेक्रममा झडपसमेत भएपछि सुरक्षाकर्मी परिचालन गरी भत्काइएको थियो ।
यहाँका ठूला होटल सन्चालकहरूले भने अवैधरुपमा सन्चालित होटल तथा रेस्टुराँले जग्गाको भाडा तिर्नु नपर्ने, व्यवसाय दर्ता पनि गर्नु नपर्ने र सरकारलाई राजस्व पनि तिर्नु नपर्ने भन्दै यस्ता व्यवसाय हटाउन माग गर्दै आएका थिए । रासस
प्रतिक्रिया दिनुहोस्