
काठमाडौं, भदौ २ । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनको विकासका लागि उड्डयन क्षेत्र महत्वपूर्ण भएकाले प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।
सोमबारदेखि काठमाडौंमा सुरु भएको एसिया प्रशान्त क्षेत्रका हवाई नियामक निकायका महानिर्देशकहरुको सम्मेलनमा प्रधानमन्त्री ओलीले पर्यटनको विकासका लागि ‘कनेक्टिभिटी’ महत्वपूर्ण रहेकाले उड्डयन क्षेत्रको भूमिका उल्लेखनीय भएको बताए ।
उनले नेपाल उड्डयन क्षेत्रको सुधारका लागि ‘आइकाओ’सँग मिलेर काम गर्न तयार रहेको स्पस्ट पारे ।
आइकाओको नियम मान्नु कुनै बाध्यता पनि नभइ आवश्यकता रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
उनले नेपालले पर्यटकको आवागमनमा वृद्धि गर्न ‘बुटिक एअरपोर्ट’को विकास पनि गरिरहेको बताए ।
सगरमाथाको नाम ‘माउन्ट एभरेस्ट’ नभइ सगरमाथा नै भएको र नेपालीको पहिचान पनि भएकाले सगरमाथा नै भन्न उनले आग्रह गरे ।
खुला आकाश नीति : मन्त्री भट्टराई
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालले खुला आकाश नीति लिएको र सोहीअनुसार विभिन्न देशहरुसँग जोडिन चाहेको बताए ।
नेपालले विमानस्थलको सुरक्षा र सुधारका लागि पूर्वाधारको विकासमा ध्यान दिइरहेको उनको भनाइ थियो ।
आइकाओको निर्देशन र सल्लाहअनुसार नै काम गरिरहेको र सुरक्षामा पनि ध्यान दिने पर्यटनमन्त्री भट्टराईले स्पस्ट पारे ।
कार्यक्रममा आइकाओका प्रमुख ओलुमुइवा बर्नाड एल्युले हवाई सेवाको सुरक्षाको नीति सबै देशहरुले मान्नैपर्ने बताए ।
आर्थिक विकासका लागि हवाई सुरक्षालाई मजबुत् बनाउनुपर्नेे उनको भनाइ छ ।
सम्मेलन आउँदो शुक्रबारसम्म चल्नेछ । सम्मेलनमा विभिन्न ४४ देशका ३५० बढी प्रतिनिधि सहभागी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्