
काठमाडौं । धेरै संख्यामा नेपाली कामदार रहेको कतारमा यतिबेला गैर आवसीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति (एनआरएनए)को चुनावले माहोल तातेको छ ।
गैरआवासीय नेपालीहरुको छाता संगठन एनआरएन एनसीसी कतारको २०१९–२१ कार्यकालका लागि प्रतिस्पर्धीहरु चुनावी मैदानमा छन् ।
नेतृत्वका लागि कतारमा बसेर व्यवसाय गरिरहेका र कामदारका रुपमा श्रम गरिरहेका ब्यक्तिहरुको उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ । एनआरएनए कतारको सदस्यमा व्यवसाय भन्दा पनि श्रमिकहरुको संख्या बढी भएकाले पनि प्रतिस्पर्धा निकै रोमान्चक हुने देखिएको छ ।
यही अगष्ट २३ तारिखमा हुने अधिवेशनमा नयाँ नेतृत्वका लागि तेज कटुवाल र मोहम्मद मुक्तदा मुसलमानले उम्मेदवारी दर्ता गराएका छन् ।
सामाजिक अभियन्ता तथा वर्तमान कार्यसमितिका उपाध्यक्ष कटुवालले मोहम्मद मुक्तदालाई सजिलै पराजित गर्ने मनस्थितीका साथ आफ्नो प्रचारलाई तिब्र बनाएका छन् । व्यवसायिक रुपमा आफ्नो बलियो हिस्सा जमाएका मुक्तदा पनि तेजसँग प्रतिस्पर्धा गर्न कुनै समस्या नभएको दावी गरेर चुनावी प्रचारमा उत्रिएका छन् ।
दुवै उम्मेदवारले आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गर्दै चुनावी मैदानमा गतिविधिलाई तिब्र बनाएका छन् । ४ हजार ४ सय ६५ जना पञ्जिकृत सदस्य रहेको एनआरएनए एनसीसी कतारमा धेरैजसो सदस्य त्यहाँका विभिन्न व्यवसायिक कम्पनीहरुका कामदारका रुपमा रहेकाहरुको बाहुल्यता देखिन्छ ।
तिनै कामदार र व्यवसायीहरुको साझा उम्मेदवारका रुपमा तेज कटुवालले आफूलाई उभ्याएको दावी गरेका छन् । एनआरएनए कतारको प्रथम उपाध्यक्ष रहँदा धेरै पटक कार्यबाहक अध्यक्षको पद सम्हालेको साथै अघिल्लो कार्यकालमा सदस्य हुँदा पटक पटक कार्यवाहक महासचिवको पद सम्हालेको अनुभव भएकाले पनि आफूलाई मतदाताले जिताउनेमा विश्वस्त रहेको बताउँछन् ।
कतारमा व्यवसाय गरिरहेका मुक्तदा अघिल्लो कार्यसमितिमा पनि अध्यक्षका उम्मेदवार थिए । उनी यस पटक अघिल्लो पटकको हारलाई बदलेर एक पटक एनआरएनए एनसीसी कतारको नेतृत्व सम्हाल्न चाहेको बताइरहेका छन् ।
कतारको चुनावी माहोललाई हेर्दा कतिपयले व्यवसायी र कामदारबीचको प्रतिस्पर्धा जस्तो देखिएको अनुमान गरेका छन् । किनकी मुक्तदा व्यवसायी हुन भने तेज कामदार हुन । यद्यपी, कतारमा एनआरएनए सदस्यहरुमा कामदारको संख्या धेरै छ । यी मतदातालाई दुई उम्मेदवार मध्ये कसले प्रभाव पार्न सक्छ उसको विजयी निश्चित जस्तो देखिन्छ ।
करिब डेढ दशकदेखि कामदारका रुपमा रहेर विभिन्न सामाजिक काम गरिरहेका तेजलाई कामदारको मात्र मत काफी हुने देखिदैन साथै अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजका निवर्तमान अध्यक्षसहित विभिन्न सामाजिक संघसंस्थामा आवद्ध मुक्तदालाई पनि व्यवसायी र मुसलमान समुदायका कामदारले मात्र समर्थन गरेर चुनाव जित्न सहज छैन ।
दुवै उम्मेदवार प्रभावशाली देखिन्छन् । मुक्तदा भन्दा तेज एनआरएनए सदस्हरुसँग नजिकबाट साक्षात्कार गरिरहेको तथा नेपालीहरुको सामान्य समस्याहरुमा पनि उपस्थिति र सहयोग रहँदै आएकाले सबैको माया पाउनेमा विश्वस्त देखिन्छन् । मुक्तताले पनि सबैसँग सम्बन्ध विस्तार गरिरहेका छन् ।
मुद्दामा केछ ?
रोजगारीका सिलसिलामा इटहरीबाट डेढ दशक अघि कतार पुगेका तेज कटुवाल र ब्यवसायका सिलसिलामा कपिलबस्तुबाट कतार पुगेका मोहम्मद मुक्तदा मुसलमानले अध्यक्षको उम्मेदवारी दर्तासँगै आफ्ना एजेन्डाहरु पनि सार्वजनिक गरेका छन् ।
तेजले संघ तथा सामाजिक कार्यक्रम, दिर्घकालिन योजना, अग्रज, अभियन्ता र आईसीसीसँगको सहकार्य, आर्थिक व्यवस्थापनलगायतका योजनालाई छुट्टाछुट्टै रुपमा प्रस्तुत गरेर श्रमिकका हकहित, विभिन्न संघसंस्थाबाट नेपालको प्रवद्र्धन साथै नेपाली भाषा, संस्कृति र पर्यटनलाई प्राथमिकतामा जोड दिएका छन् ।
उनले सांस्कृतिक केन्द्र, नेपाली विद्यालय, नेपाली रेडियोको स्थापनार्थ समन्वयात्मक भूमिका, ‘अग्रजलाई सम्मान, नयाँलाई प्रोत्साहन’ को नीति, ‘एनआएनए साँस्कृतिक दुत’ अभियान, ‘श्रमिकको आम्दानी, नेपालमा लगानी’ अभियान साथै ‘श्रमिकको हित, एनआरएनएको जित’ नारामार्फत आफूलाई शसक्त उमेद्वारका रुपमा उभ्याएका छन् ।
मुद्दालगायत एनआरएनएमा क्रियाशिलता मात्र नभइ विभिन्न संघ संस्थामा आवद्ध भई देखाएको सक्रियताले उनलाई नेतृत्व हत्याउन सहज देखिएको विश्लेषकहरुको बुझाइछ ।
मुक्तदाले पनि १२ बुँदे योजनाहरु सार्वजनिक गर्दै आफूलाई अब्बल उम्मेदवार खडा गरेका छन् । उनले नेपालीहरुलाई रोजगारीको अवसर, श्रमिक कल्याणकारी कोष, नेपालमा उत्पादित कृषिजन्य बस्तुको कतारमा बजार विस्तार, नेपाली विद्यालयको स्थापना, नेपालको पर्यटन प्रवद्र्धन, कामदारहरुको स्वास्थ्य उपचारमा मद्दतलगायतका मुद्दालाई प्राथमिकता दिएका छन् ।
मुक्तदालाई मुसलमान एनआरएनए एनसीसी कतारअन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजलगायतका देखाएको सक्रियताले चुनावमा फाइदा पुग्ने देखिएको छ । यद्यपी, नेतृत्वका दुवै उम्मेदवारलाई कतारमा रहेका नेपाली कामदारहरुका सामान्य भन्दा सामान्य समस्याहरुमा हातेमालो, कानुनी जटिलतामा सहजिकरण, एजेन्ड तथा कम्पनीहरुले दिने गरेको झन्झट साथै मानवीय सहायतामा सहकार्य गर्ने उम्मेदवारको विजयी हुनेमा अडकलबाजी सुरु भएको छ ।
हेर्नुहोस उम्मेदवारहरुको नामावली
‘
प्रतिक्रिया दिनुहोस्