१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


विपन्न परिवारलाई निःशुल्क मिटरबक्स


0
Shares

जाजरकोट, भदौ २ । नेपाल विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रले भेरी नगरपालिकाका विपन्न परिवारलाई निःशुल्क रूपमा विजुलीको मिटरबक्स वितरण गरेको छ ।

सो नगरपालिका को १, ३, ४, १०, ११, १२ र १३ वडाका विपन्न परिवारलाई ती वडा कार्यालयले गरेको सिफारिशका आधारमा ४९३ थान मिटर निःशुल्क रूपमा वितरण गरिएको हो । 

विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रका प्रमुख लोकबहादुर खड्काले उज्यालो नेपाल कार्यक्रमअन्तर्गत सबैको घरको अन्धकार हटाउन प्राधिकरणको केन्द्रीय योजनाअनुसार मिटर बक्स निःशुल्क वितरण गरिएको जानकारी दिए ।

यो अभियानले विद्युत् चोरीको अन्त्य हुने उनले आशा व्यक्त गरे । वडा नं १ का वडाध्यक्ष दीपक रानाले सधैँ आसपासका धनी मानिसको घरको उज्यालो हेरेर बस्नु पर्ने परिस्थिति अन्त्य गर्न विद्युतले निकै उदारणहरणीय भूमिका निर्वाह गरेको बताए ।

यसअघि प्राधिकरणले आफ्नो कार्य क्षेत्रअन्तर्गत पर्ने सुर्खेतको सिम्ता गाउँपालिकामा पनि निःशुल्क मिटर बक्स वितरण सकिसकेको छ । जिल्लामा एउटा मिटर बक्सको मूल्य सेवा शुल्कसहित रु दुई हजार ५०० पर्छ । त्यो जडान गर्न आवश्यक तारसहित सबै जोडेर एउटा मिटर बक्सको कूल रु चार हजार २०० देखि चार हजार ५०० सम्म पर्ने खड्काले बताए ।

पहिला नगरपालिकाका विकट बस्तीमा विद्युत वितरण गर्न थालेको उनले बताए । विद्युतको लाइन विस्तार कार्य जारी रहेकाले मिटर बक्स वितरण कार्यसँगै बढेको खड्काको भनाइ छ । (रासस)