प्रदेश १ र एपीएफ प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटको फाइनलमा « Image Khabar


प्रदेश १ र एपीएफ प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटको फाइनलमा


Imagekhabar
१८ पुष २०७७, शनिबार १७:३०

काठमाडौं । प्रदेश नम्बर–१ र विभागीय टिम एपीएफ प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । दाङको लमहीमा शनिबार भएको पहिलो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै एपीएफ फाइनल पुगेको हो ।

सुदूरपश्चिमले दिएको ६१ रनको लक्ष्य एपीएफले १५ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो । एपीएफको जितमा ज्योति पाण्डेले अविजित रहदै २६ रन जोडिन् । यस्तै सरिता मगर १९ रनमा अविजित रहिन् । सुदूरपश्चिमकी कविता कुँवरले १ विकेट लिइन् ।

त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १६ ओभरमा ७ विकेट गुमाएर ६० रन बनाएको थियो । बाक्लो हुस्सुको कारण ढिला सुरु हुँदा खेल १६ ओभरमा घटाइएको थियो ।

त्यस्तै, दोस्रो सेमिफाइनलमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई १० विकेटले पराजित गर्यो । लुम्बिनीले दिएको ५३ रनको सामान्य लक्ष्य प्रदेश १ ले ८ ओभर ५ बलमा बिना विकेटको क्षतिमा पुरा गर्यो । प्रदेश १ का लागि रुबिना क्षेत्रीले अविजित रहदै २६ रन जोडिन् । यस्तै काजल श्रेष्ठ २२ रनमा अविजित रहिन ।

त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनी १४ ओभर १ बलमा अलआउट हुँदै ५२ रनमा समेटिएको थियो । लुम्बिनीका लागि नितु भण्डारीले सर्वाधिक २१ रन जोड्दा अन्य ब्याट्सवुमनले रन जोड्न सकेनन् । लुम्बिनीलाई सस्तैमा समेट्न प्रदेश १ की संगीता राई र निग्मा तामाङले २–२ विकेट लिईन । उपाधिका लागि अब प्रदेश १ र एपीएफ क्लबसँग खेल्नेछ । फाइनल खेल आइतबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्