६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024


सत्तारुढ नेकपाका नेताहरुको वरियता हेरफेर, माधवकुमार नेपाल घटुवा, झलनाथ खनालको बढुवा


0
Shares

                  आइतबार बसेको सचिवालय बैठकमा सहभागी नेताहरु । तस्वीर : रासस

काठमाडौं, भदौ १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा नेताहरुको वरियता हेरफेर गरिएको छ ।

आइतबार बसेको सचिवालय बैठकले अध्यक्षद्वयपछिको वरियतामा वरिष्ठ नेता झलनाथ खनाललाई राख्ने निर्णय गरेको हो । वरियतामा खनालभन्दा पछाडी वरिष्ठ नेता माधवकुमार नेपाललाई राख्ने निर्णय बैठकले गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपालको असन्त्ुष्टि र विरोधका बाबजुद पनि उनलाई अर्का नेता खनालभन्दा पछाडीको वरियतामा राखेको हो । नेता नेपालले बैठकमा ‘नोट अफ डिसेन्ट’ लेखेर आफ्नो असन्तुष्टि जनाएका छन् ।

पार्टी एकता हुँदा वरिष्ठ नेता नेपाललाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालपछि तेस्रो वरियतामा राखिएको थियो । खनालले आफू विदेश हुँदा एकलौटी ढंगले वरियता तोकेको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए । खनालकै असन्तुष्टि सम्बोधन गर्ने क्रममा आइतबार नेकपाले नेताहरुको वरियतामा हेरफेर गरेको हो ।

बैठकले जनवर्गीय संगठनमा इञ्चार्जसमेत तोकेको छ । जसअनुसार किसान महासंघमा बामदेव गौतमलाई इञ्चार्ज र सुनील मानन्धरलाई सहइञ्चार्ज बनाउने निर्णय भएको छ । त्यस्तै ट्रेड यूनियन महासंघको इञ्चार्जमा जयपुरी घर्ती र सहइञ्चार्जमा विनोद श्रेष्ठ चयन भएका छन् ।

बैठकले विभिन्न जनवर्गीय संगठन, सम्पर्क कमिटी र समितिहरुमा इञ्चार्ज र सहइञ्चार्ज समेत तोकेको छ ।