७ श्रावण २०८२, बुधबार | Wed Jul 23 2025


पशुसेवा प्राविधिकलाई पशु सेवा सम्बन्धी उपकरण वितरण


0
Shares

बासुदेव बर्मा

कपिलबस्तु, भदौ १ । जिल्लामा कार्यरत पशु सेवा प्राविधिकलाई संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले उपकरण वितरण गरेका छन् ।

एक गाउँ एक प्राविधिक कार्यक्रम अन्र्तगत जिल्लाका १० वटै स्थानीय तहका वडाहरुमा कार्यरत २६ जना पशुसेवा प्राविधिकलाई पशु सेवा सम्बन्धी उपकरणहरु वितरण गरिएको हो ।

प्राविधिकहरुलाई पशुहरुको उपचार गर्नमा सहज होस भन्दै उपकरणहरु वितरण गरिएको जनाइएको छ । प्राविधिकलाई पोस्टमार्टम सेट, माईक्रोस्कोप, सेन्ट्रीक्युगल मेसिन, खसीपार्ने मेसीन, सर्जिकल सामाग्री लगायतका पशु सेवा सम्बन्धी सामग्रीहरु वितरण गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलबस्तुका प्रमुख डाक्टर श्रवणकुमार चौधरीले जानकारी दिए ।

सामग्रीहरु वितरण गर्दे मन्त्री खनालले संघीय कृषि मन्त्रालयले कृषि र पशुलाई प्राथमिकता दिएर काम गरेको बताए । जिल्लामा व्यावसायिक किसान तथा सहकारीको माध्यमबाट दूध उत्पादनमा टेवा पुग्ने र आगामी ३ वर्षमा आयातलाई प्रतिस्थापन गर्दै ५ वर्षपछि निर्यात गरिने मन्त्री खनालको भनाइ छ । उनले प्राविधिकहरुको समस्यालाई न्यूनिकरण गर्न पहल गर्ने बताए ।

वितरण गरिएका सामाग्रीहरु प्रयोगको बारेमा पशुपन्छी रोग अन्बेषण प्रयोगशाला पोखराका प्रमुख डाक्टर केदारराज पाण्डेले जानकारी गराएका थिए । कार्यक्रममा प्रदेश ५ भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय महाशाखा प्रमुख डा. प्रदिप शर्मा, प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गिरिधारीलाल न्यौपाने लगायतको उपस्थिति थियो ।