८ श्रावण २०८२, बिहिबार | Thu Jul 24 2025


भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउन चुनौती : व्यवसायी


0
Shares

काठमाडौं, साउन ३२ । नेपाल भ्रमण वर्ष सन् २०२० सुरु हुन पाँच महिनामात्रै बाँकी छ ।

सरकारले भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।

पर्यटन भ्रमण वर्ष भनेर आयोजना गर्न लागिएको यो तेस्रोपटक हो । पहिलोपटक सन् १९९८ र दोस्रोपटक सन् २०११ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्षको आयोजना गरिएको थियो ।

तेस्रोपटकको भ्रमण वर्षको तयारी अपेक्षाअनुसार हुन नसकेको पर्यटन व्यवसायीले बताएका छन् ।

सरकारले भ्रमण वर्ष २०२० घोषणा नै ढिलो गरेको, आवश्यक पूर्वाधार तयार नगरेको तथा नेपाली विमान कम्पनी युरोपियन युनियनको प्रतिबन्धबाट अझैपनि नहटिसकेको हुँदा भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउनु चुनौतीपूर्ण रहेको व्यवसायीको भनाइ छ ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले सेवा विस्तार गर्न र बजारमा प्रतिस्पर्धा गर्न सकिरहेको छैन ।

भ्रमण वर्ष २०२० सफल बनाउन सडक, यातायात तथा विमानस्थललगायतका पूर्वाधारको विकास अझैपनि हुन सकिरहेको छैन ।

नेपाल पर्वतारोहण संघका निवर्तमान अध्यक्ष आङछिरिङ शेर्पा सरकारले भ्रमण वर्ष २०२० सफल बनाउन नेपाल वायुसेवा निगमलाई बलियो बनाउनैपर्ने बताउँछन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई भने नेपाली विमान कम्पनीलाई इयूले प्रतिबन्ध लगाउनुपर्ने कारण केही नभएपनि प्रतिबन्ध हटाउन सरकार लागिपरेको बताउँछन् ।

पछिल्ला वर्षमा वार्षिक औसत २५ प्रतिशत बढी पर्यटक भित्रिने गरेको भएपनि भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउन प्रचारप्रसार एवं पूर्वाधारमा सरकारले ध्यान दिन आवश्यक रहेको शेर्पाको भनाइ छ ।

कुनै एक वर्षमात्रै नभइ एक दशकसम्मलाई भ्रमण वर्षकारुपमा मनाउनुपर्ने उनको भनाइ छ ।

भ्रमण वर्ष अभियान सफल बनाउन जति मिहिनेत सरकारीस्तरबाट हुनुपर्छ, त्यति सहयोग र मिहिनेत निजी क्षेत्रलेसमेत गर्नुपर्ने देखिन्छ ।

तसर्थ सार्वजनिक–निजी साझेदारीअनुसार यो राष्ट्रिय अभियान सफल बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने आवश्यकता देखिएको छ ।