
सर्लाही, साउन ३२ । बाढी तथा डुबानले क्षति पुर्याएको एक महिना भइसक्दासमेत सर्लाहीमा सरकारी राहत वितरण हुन सकेको छैन ।
रेडक्रसलगायतका संघ–संस्था र सरकारी निकायमार्फत् जम्मा भएका राहत सदरमुकाम मलंगवास्थित नेपाल रेडक्रस सोसाइटीको गोदाम र जिल्ला प्रहरी कार्यालयमा थन्किएको हो ।
सर्लाहीमा हालसम्म गैरसरकारी संस्थालेमात्रै राहत वितरण गरेका छन् ।
नागरिक समाज सर्लाहीका अध्यक्ष उग्रकान्त झाले गैरसरकारी संस्थाले उपलब्ध गराएको राहत पनि आफ्ना कार्यकर्ता र आसेपासेलाई वितरण गर्न जनप्रतिनिधि र नेताबीच तँछाड–मछाड रहेको पाइएको बताए ।
नेपाल रेडक्रस सोसाइटी मलंगवाका सभापति नागेन्द्र चौधरीले रेडक्रससँग एक हजार ५०० परिवारका लागि राहत सामग्री ‘स्टक’मा रहेको बताए ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर जिसीले स्थानीय तहहरुले प्रभावितको विवरण उपलब्ध गराउन ढिलाइ गरेकाले जिल्लामा जम्मा भएको राहत वितरण गर्न नपाइएको बताए ।
उनले अब केही दिनभित्रै सर्लाहीका सबै २० ओटै स्थानीय तहबाट विवरण आउने र त्यसपछि जिल्लामा जम्मा भएका राहत प्रभावित क्षेत्रमा लगेर वितरण गरिने बताए ।
विस्थापित भएको महिना दिनसम्म पनि राहत नपाउँदा पीडितहरु भने निराश भएका छन् ।
प्रतिक्रिया दिनुहोस्